रोल्पा पुगेर विप्लवलाई उर्जामन्त्री पुनले गरे यस्तो ‘अफर’

5.33K
shares

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण राजनीति गर्न सुझाव दिएका छन् । सोमबार लिबाङमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पुनले विप्लवलाई पुरानै तरिकाको युद्धबाट सम्भव नभएको सुझाव दिएका छन् ।

‘शान्तिपूर्ण राजनीति गर्नुस् । जनमत वनाएर सरकारलाई कन्भिन्स गर्नुस्, संविधान संशोधन गर्न सकिन्छ’, मन्त्री पुनले भने, ‘पुरानै तरिकाको युद्धबाट सम्भव छैन ।’

मन्त्री पुनले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आए नेतामाथिका मुद्दा खारेज गर्न सकिने प्रस्ताव राखेका हुन् । ‘हतियार उठाएका कतिपय शक्तिसँग त सरकारले वार्ता गर्न तयार छ । विप्लवजीहरुले त अझै हतियार उठाइसक्नु भएको छैन । वार्तामा बसेर असहमति टुंग्याउन सकिन्छ’, मन्त्री पुनले भने, ‘वार्तामा बस्ने हो भने विप्लव लगायतका नेतामाथिका मुद्दा खारेज गर्न सकिन्छ ।’

विप्लव नेतृत्वको नेकपाबाट ठाउँठाउँमा हतियार प्रदर्शन, तालिम, केही अपराधिक काम र चन्दा असुली भइरहेकोमा मन्त्री पुनले आपत्ति जनाए । ‘स्थानीय तहका कतिपय जनप्रतिनिधि र कार्यालय प्रमुखहरुलाई धम्काउने काम भइरहेको छ । नेतृत्वले स्पष्ट पार्नुपर्छ’, मन्त्री पुनले भने, ‘यस्ता काम रोकिनुपर्छ । अन्यथा राज्यले एसर्टिभ ढंगले कदम चाल्न बाध्य हुन्छ ।’

संविधानप्रतिको र विगतको परिवर्तन संस्थागत गर्ने सन्दर्भका असन्तुष्टि वार्ताबाट समाधान गर्न सकिने मन्त्री पुनले जोड दिदै भने, ‘परिवर्तनविरोधी घरेलु र अन्तर्राष्ट्रिय शक्तिबाट विप्लव नेतृत्वको नेकपा प्रयोग हुनु हुँदैन ।’ नेपाल सरकारको मन्त्रिमण्डल हेरफेर हल्ला मात्र भएको मन्त्री पुनले दावी गरे । ‘यो सरकार पाँच वर्ष टिक्छ । एक आर्थिक वर्षसम्म मन्त्रीको काम हेरिन्छ । त्यसैले पनि अहिले नै मन्त्री फेरबदल हल्ला मात्र हुन्’, मन्त्री पुनले भने, ‘सरकार अस्थिर छ भन्ने हल्ला फैलाउने काम भएको मात्र हो ।’

सकारले पहिलो छ महिनामा ऐन र कानून निर्माण गरेको र अन्तराष्ट्रिय कुटनैटिक सम्बन्ध सुधार गरेको बताए । ‘संसद चलेको हरेका पाँच दिनमा एउटा ऐन जारी भएको छ । यो नेपालको इतिहासमा नौलो हो’, मन्त्री पुनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलीको भारत र चिन भ्रमणले कुटनैटिक सम्बन्ध सुदृढ भएको छ ।’