फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयका उपसचिवलाई दण्ड !
वि.सं.२०७५ कात्तिक २८ बुधवार १२:३७
shares

काठमाण्डौँ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकै भरमा शिक्षा मन्त्रालयले एक जना उपसचिवलाई स्पष्टीकरण सोधेको छ । कर्मचारी सरुवाका विषयमा स्टाटस लेखेका उपसचिव ईश्वरी पोखरेललाई शिक्षा सचिव खगराज ‘तपाईलाई किन कारबाही नगर्ने’ भनी ३ दिने स्पष्टीकरण सोधेका हुन् ।
पोखरेलले शिक्षाका उपसचिवहरूलाई नगरपालिकामा खटाइएको र मन्त्रालयले फेसबुक सञ्चालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको विषयमा स्टाटसमार्फत असन्तुष्टि पोखेका थिए । शिक्षा मन्त्रालयले कात्तिक १३ गते आफ्नो मातहतका कर्मचारी, शिक्षक र प्राध्यापकलाई फेसबुक सञ्चालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको थियो । जसमा मन्त्रालयका गतिविधिको समर्थन गर्न पाइने तर खण्डन गर्न नपाइने उल्लेख छ ।
उनले मंगलबार प्रधानमन्त्री, शिक्षामन्त्रीलगायत सरकारका विभिन्न ११ निकायलाई स्पष्टीकरण पठाएका छन् । पोखरेलले मार्गनिर्देशनले त्रास बढेको इंगित गरेका छन् ।
‘शिक्षामन्त्री र सचिव उदाहरण बनुन्, सलाम ठोकिन्छ तर अन्याय सहिन्नँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘मन्त्रालयको समर्थनमा लेख्न छुट रे, असहमति र विमतिमा लेख्नेलाई निगरानीमा राख्ने र विभागीय कारबाही गर्ने भा छ रे, फेसबुकमा हात चलाउन खोज्दा बाफ रे डरले थरथर कामेको शरीर ।’ मापदण्डबिनै शिक्षाका १ सय ५९ उपसचिवलाई नगरपालिकामा खटाइएकोमा पनि उनले स्टाटसमार्फत असन्तुष्टि जनाएका छन् ।
‘शिक्षाका उपसचिवलाई कनिष्ठ उपसचिव र कतिपय स्थानमा अधिकृत मातहत नै शिक्षा शाखा प्रमुख वा खरिदार बनाएर स्थानीय तहमा खटाए झैं हाम्रा श्रीमान् सचिवज्यू पनि कुनै प्रदेश मन्त्रालयको सचिवमा वा कुनै निर्देशनालयमा पो सरुवा भएर जाने हुन् कि ?’, उनले लेखेका छन्, ‘शिक्षामन्त्रीज्यू पनि कुनै प्रदेश मन्त्रालयको मन्त्री पद स्वीकार गरी जाने त होइन भन्ने मनमा पलायो ।’ सचिव र मन्त्री प्रदेश गए, उपसचिवहरू कार्यालय सहयोगी भएर जान तयार रहेकोसमेत उनले जिकिर गरेका छन् ।
दसैंअघि मन्त्रालयले गरेको सरुवामा शिक्षाका अधिकांश उपसचिव असन्तुष्ट छन् । कतिपयले खटाएको ठाउँमा जान नसक्ने भन्दै निवेदन दिएका छन् भने कतिपय सरुवा भएको नगरपालिकाभन्दा अन्यत्रै खटिन थालेका छन् । ‘कर्मचारी खटनपटन, पदस्थापना र जिम्मेवारी दिने कार्यविधि, प्रक्रिया र मापदण्ड के हो ?’ भन्दै पोखरेलले स्टाटसमार्फत नै प्रश्न गरेका छन् ।
‘मन्त्रीज्यू र सचिवज्यू प्रदेशमा जान तयार भए खटाएको ठाउँमा सलाम ठोकेर विमति नजनाएर गइन्छ,’ उनले स्टाटसमा भनेका छन् । करिब साढे ३ सय शब्द लामो स्टाटसमार्फत असन्तुष्टि व्यक्त गर्दा उनले स्पष्टीकरण खेप्नुपरेको हो ।


































