‘युवा स्वरोजगार कोष आसेपासे पोस्न र नयाँ सूदखोर जन्माउन हैन’ : डा. भट्टराई

4.88K
shares

काठमाडौं । युवा स्वरोजगार कोषको स्थापना बेरोजगारलाई रोजगारी दिन र उत्साहपूर्ण तरिकाले रोजगार प्राप्त गर्नका लागि भए पनि त्यसको चरम दूरुपयोग भएको पाइएको छ । वेरोजगारलाई रोजगार दिन सरकारले नीति ल्याए पनि रोजगार पाएका पार्टीका कार्यकर्तालाई नै रकम बाँडेपछि सरकार आलोचित भएको छ ।

सरकार जनताको अभिभावक हो । समान व्यवहार गर्छ अभिभावकले । तर अहिलेको सरकारले राज्यकोषको चरम दुरुपयोग गरेर आफ्ना कार्यकर्ता पालेको भन्दै आलोचना भइरहेको हो ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पनि सरकारको चर्को आलोचना गरेका छन् । सामाजिक संजाल ट्वीटरमा उनले शुक्रबार –‘आफ्नो सन्तानलाई कसैले अंगभंग पारेको हेर्नुपर्दा ठूलो पीडाबोध हुनेरहेछ ! स्वरोजगार कोषको स्थापना युवा वेरोजगारी अन्त्य गर्न विना धितो र परियोजना बनिसकेपछि फिर्तादिने गरी अतिन्यून ब्याजदरमा कर्जा प्रवाह गर्न भएको हो। आसेपासे पोस्न र नयाँ सूदखोर जन्माउन हैन ! यसको उपचार र जीवनरक्षा होस् ’ लेखेका छन् ।

विभिन्न सहकारीहरु सरकारको सहुलियत ब्याजमा ऋण दिएर विपन्न तथा बेरोजगार युवालाई स्वदेशमै उद्यमशील बनाउने बिचौलिया नै बनेका छन् । त्यस्तो स्वरोजगार कोषबाट ५ प्रतिशत ब्याजमा रकम लिने सहकारीले विपन्न किसानबाट १३.५ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् ।

ब्याजमा तीन गुणा नाफा मात्र होइन, सेवा शुल्कबापत कुल रकमको तीन प्रतिशत पनि छुट्टै काटेर बलिया भएका सहकारीले किसानलाई झन् निर्धो बनाएका छन् । स्वरोजगार कोषको व्यवस्था विपन्न र बेरोजगारलाई स्वरोजगार र स्वावलम्बी बनाउन भएको हो । यस्तो रकम विपन्न जनतालाई विनाधितो वितरण गर्नुपर्छ । तर दुर्भाग्य त्यस्तो हुन सकिरहेको छैन । भ्रष्टाचारी मानसिकताले दिनानुदिन मुलुक गाँजिएको छ ।