प्रमुख निर्वाचन आयुक्तको प्रस्ताव– चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं
वि.सं.२०७५ कात्तिक ३० शुक्रवार १४:२४
shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवले चार वर्षपछि हुने आवाधिक निर्वाचनको मिति अहिले नै घोषणा गरेर चुनावको तयारी थाल्नु पर्ने बताएका छन् । १ सय २० दिनको समय राखेर चुनावको मिति घोषणा गर्दा चुनावको तयारी गर्न नभ्याइने र विगतमा हतारो भएको उनको गुनासो छ ।
गतवर्ष भएको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको जियोक, नियोक र संकल्प नामक संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनको मिति अहिलेनै घोषणा गरेर जानु उपयुक्त हुने बताएका हुन् । निर्वाचन सम्पन्न भएको मितिदेखि नै अर्को निर्वाचनको तयारी शुरु गर्नुपर्ने यादवको भनाइ छ ।
हामीले भन्दै आएका छौं, निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई हुनुपर्छ, यदी आयोगलाई छैन भने सरकारले अहिले नै फलानो मितिमा चुनाव गर्ने भनेर तोक्दा हुन्छ । यसो गर्दा निर्वाचन सामाग्रीको तयारी र मतदाता शिक्षाका लागि काम गर्न सकिन्छ । यदी सरकारले गर्दैन भने संसदले निर्वाचनको मिति कानून मै व्यवस्था गरिदियो भने कतै अप्ठेरो हुँदेनʼयादवले भने ।
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी निर्वाचनमा विद्युतीय मतदानको व्यबस्था गर्न र मतदान भएकै स्थल (बुथ)मै मतगणना गर्ने व्यबस्था मिलाउन सुझाव दिए । ʻमतदाता परिचयपत्र लागू भएपछि एकजनाको भोट अर्कोले हाल्न पाउँदैन कि भनेको एकै जनाले २० जनाको भोट हालेको पनि देखियो, यसमा आयोग गम्भीर हुनुपर्छʼउप्रेतीले भने । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यबस्था गर्न आयोगले पहल गर्नुपर्ने बताए ।
संसदको राज्यव्यबस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले निर्वाचन महंगो भएकोले इमानको राजनीति गर्नेहरुले चुनाव जित्न नसक्ने अबस्था आएको भन्दै निर्वाचन प्रणालीमै सुधार गर्नु पर्ने बताइन् । उनले राजनीतिक दललाई निर्वाचन खर्च दिने र उम्मेदवारलाई खर्चको सिलिङ तोक्नुपर्ने बताइन् ।






























