सिटौलाको दाबि – सरकारले केही गर्न सकेन
वि.सं.२०७५ मंसिर ५ बुधवार १३:३९
shares

सुर्खेत । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले बहुमतीय संस्कार अवलम्बन गरेर आफैलाई असफल बनाउने कार्य गरेको आरोप लगाएका छन् ।
वीरेन्द्रनगरमा बुधवार नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता सिटौलाले सभापति असफल हुन कांग्रेस नै असफल हुने भएका कारण सहमति, सर्वसम्मतको प्रक्रिया अपनाउनुपर्नेमा जोड दिए ।
‘वीपी कोइरालाले हरेक निर्णय लिँदा सबै कार्यकर्ताको राय बुझेर लिने गर्दथे,’ पार्टी सभापति देउवाको एकल निर्णयप्रति इङ्गित गर्दै उनले भने, ‘कार्यकर्ताको चाहना विपरीत उहाँले काम गर्नुभयो भने उहाँ नै असफल हुनुहुन्छ र त्यसले सिंगो पार्टीलाई नै असफल बनाउने छ । यसमा सुधार हुन जरुरी छ ।’ उनले पार्टी सभापति देउवाको होस खुल्ने अपेक्षासमेत व्यक्त गरे ।
द्वन्द्वपीडितलाई न्याय देउ
नेता सिटौलाले आजकै दिन बृहत् शान्ति सम्झौता भएको बताउँदै अहिलेसम्म पनि द्वन्द्वपीडितले न्याय नपाउनु दुःखद भएको प्रतिक्रिया दिए । ‘हिजो हामी ७ दल र तत्कालीन विद्रोही पक्ष माओवादीबीच बृहत् शान्ति सम्झौता भएको थियो,’ उनले भने, ‘सोही सम्झौता अनुरुप हामीले आयोग गठन गरेर द्वन्द्वपीडितलाई न्याय दिने कार्य अघि बढाएका थियौं । तर अहिले आयोगको काम कहाँ, के भइरहेको छ थाहा नै छैन ।
उनले पीडितले न्याय नपाएको खण्डमा बदलाको भावना जाग्ने र त्यसले देशमा फेरि अशान्ति ल्याउन सक्ने खतरा कायमै रहेको बताए । ‘अहिले त देशमा शान्ति छ, सबैले काम गरिरहेका छन्,’ उनले भने, ‘तर भविष्यमा न्याय दिन नसकेको खण्डमा देशमा कतै फेरि हिंसात्मक वातावरण बन्ने त होइन, मलाई चिन्ता लागिरहेको छ । यो समस्या समाधान गर्न सरकार र प्रतिपक्ष सबै लाग्न जरुरी छ ।
सरकारले केही गर्न सकेन
नेता सिटौलाले वर्तमान दुईतिहाईको सरकारले १ वर्षमा केही काम गर्न नसकेको आरोप लगाए । ‘१ वर्षमा सरकारले न त जनतालाई आशा दियो, न त भरोसा नै दियो,’ उनले भने, ‘बरु सरकारले कुखुरादेखि जग्गामा चर्को कर लगायो र जनतालाई निराशा मात्रै दियो । नेता सिटौलाले सरकारले अहिले नेकपालाई र नेकपाका कार्यकर्तालाई व्यवस्थापन गरिरहेको बताए । ‘नेकपा अहिले कार्यकर्ता व्यवस्थापनमा व्यस्त छ ।
देशमा विकास निर्माण गर्ने, जनतालाई व्यवस्थापन गर्ने कुरामा ध्यान नै दिन सकेको छैन,’ उनले भने, ‘यो १ वर्षमा सरकारले जनतालाई केही दिन सकेन । आगामी ४ वर्षमा पनि सरकारले जनतालाई केही दिन नसक्ने हो कि भन्ने लागिरहेको छ ।’ उनले वर्तमान सरकारस्थिर सरकार भएका कारणले जनताको अपेक्षा पूरा गर्न कटिबद्व भएर लाग्नुपर्नेमा जोड दिए ।
निरीह कांग्रेस
उनले संसदमा नेपाली कांग्रेस निरीह भएको बताए । ‘सरकारको राम्रो कामको प्रसंसा गर्ने, नराम्रो कामको विरोध गर्ने काम हामीबाट हुन सकेको छैन,’ उनले भने, ‘सरकारसँग सत्ताको उन्माद भएपनि निरन्तर खबरदारी गर्ने जिम्मा पाएको नेपाली कांग्रेस चुपचाप लागिरहेको छ । यसले हामी कस्तो लोकतन्त्रको अभ्यास गर्दैछौं भन्ने कुरा प्रष्ट हुन्छ ।’ उनले सरकारको बन्दा आँखालाई प्रतिपक्षले खोल्न नसकेको बताए ।












