अन्तर्राष्ट्रिय गैसस आयोजक, सरकार सहआयोजक हुनु गम्भीरः काङ्ग्रेस

5.34K
shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आयोजक भई नेपाल सरकार र सङ्घीय संसद् सहआयोजक हुने विषय देशका लागि गम्भीर रहेको जनाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबा। यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहआयोजक भई कार्यक्रम गर्नुपर्ने गरी कमजोर हुनु दुःखद् रहेको बताए।

आगामी मङ्सिर १५ र १६ गते हायात रिजेन्सी होटलमा आयोजना हुने एशिया प्यासिफिक सम्मेलनको निमन्त्रणा कार्डमा युनिभर्सल पीस फेडेरेसनअन्तर्गत सरकार र संसद् सहआयोजक रहेको उल्लेख छ । फेडेरेसनको लोगोमुनि नेपाल सरकार र सङ्घीय संसद्को लोगो राखिएको छ। सरकार र संसद्को लोगोसँगै आइक्यापको लोगो पनि छ। निमन्त्रणा समितिको अध्यक्षमा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लेखिएको छ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महीनासम्म दोषी पत्ता लगाउन नसक्ने, दोषीलाई कानूनी कारवाहीको माग गर्दै धर्नामा बसेका निर्मलाका पिताको मानसिक अवस्था बिग्रँदा नभेटिने सरकार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको निमन्त्रणा कार्डमा सहआयोजकका रुपमा भेटिएको बताए।

सुनसरीका फिदा हुसेन र कपिलवस्तुमा प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वार दीपेन्द्र चौधरीको हत्या हुँदा नभेटिने सरकार यस्तो अवस्थामा फेला पर्नु राष्ट्रका लागि सुखद् नरहेको काङ्ग्रेसले जनाएको छ। नेपालमा हुने जुनसुकै सम्मेलनको पार्टीले स्वागत गर्ने भए पनि सरकार अन्तर्राष्ट्रिय गैससको सहआयोजक हुनु लज्जाको विषय रहेको उनले बताए।

विश्व तापमान, जलवायु परिवर्तनलगायत विषयमा छलफल हुनु स्वागतयोग्य भए पनि धर्मप्रचारका लागि हुने कार्यक्रमको सरकार सहआयोजक हुनु सामान्य नभई गम्भीर आपत्तिको विषय भएकाले यसलाई सच्याउन काङ्ग्रेसले जोडदार माग गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083