अध्यक्ष ‘प्रचण्ड’ र अमेरिकी राजदूत ‘बेरी’बिच भेटवार्ता, आपसी सहयोग र सहकार्यबारे छलफल
वि.सं.२०७५ मंसिर ११ मंगलवार १३:११
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग नेपालस्थित अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले भेटवार्ता गरेका छन्।
मंगलवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको थियो। अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताए। उनले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भाव आवश्यक रहेको औंल्याए।
अध्यक्ष प्रचण्डले जलविद्युत, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालका प्राथमिकता भएको पनि जानकारी गराए। अध्यक्षले भर्खरै मात्र राजदूतको जिम्मेवारी पाएर नेपाल आएका राजदूत बेरीलाई भने, ‘तपाईको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझैं प्रगाढ बन्ने मैले विश्वास लिएको छु।’ अध्यक्षले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताए।
राजदूत बेरीले मिलिनियन च्यालेन्ज कर्पोरेसन ९एमसिसि० मार्फत नेपालको पूर्वाधारमा लगानीका लागि स्थायी सरकार बलियो आधार भएको बताए। उनले नेपालको शान्तिपूर्ण लोकतान्त्रिक रुपान्तरण उत्तम रहेको बताउँदै देशको आर्थिक विकासका लागि अहिले उचित अवसर भएको बताए।





























