‘ओली’ले बोलाए ‘मोदी’ तर उनले पठाए ‘योगी’

4.46K
shares

काठमाडौँ । करिब डेढ महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई विवाह पञ्चमीमा जनकपुर आउन निम्तो पठाए।

त्रेता युगमा अयोध्याका राजकुमार भगवान राम राजा जनककी छोरी सीतासँग विवाह गर्न जनकपुर आएका थिए। त्यसैको निरन्तरतास्वरूप लामो समयदेखि भारतको अयोध्याबाट विवाह पञ्चमीका दिन जनकपुरमा जन्ति आउने चलन छ।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई त्यसरी नै जन्ति बनेर आउन निम्तो पठाएका थिए। ‘साँस्कृतिक भ्रमणका लागि निम्तो पठाएका थियौं। उहाँ आएकै बेला सम्भव भयो भने जयनगर-कुर्था रेलको शुभारम्भ र हस्तान्तरण गर्ने कार्यक्रम थियो,’ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘तर केही समयअघि उहाँले कार्यव्यस्तताका कारण आउन नसक्ने सन्देश पठाउनुभयो।’ मोदीले उक्त कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो प्रतिनिधित्व गर्ने सन्देश पनि पठाएका छन्। ‘उताको सरकारबाट जो प्रतिनिधि आउनुहुन्छ, हामीले स्वागत गर्छौं,’ परराष्ट्र मन्त्री ज्ञवालीले भने, ‘तर उहाँको भ्रमण साँस्कृतिक मात्र हुन्छ।’

यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने र राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने अभिव्यक्ति दिने आदित्यनाथबाट रेल उद्घाटन गर्न लागेको भन्दै विरोध जनाएको थियो। मन्त्री ज्ञवालीले आदित्यनाथले रेल उद्घाटन गर्ने कार्यक्रम नभएको बताए। ‘उहाँ साँस्कृतिक भ्रमण गरेर जानुहुन्छ, रेल उद्घाटन गर्नुहुन्न,’ ज्ञवालीले भने। यस वर्ष विवाह पञ्चमी मंसिर २६ गते मनाइँदै छ। योगी आदित्यनाथको स्वागतका लागि प्रदेश २ को सरकार र जनकपुर उपमहानगरपालिकाले तयारी तीव्र पारेका छन्। यसअघि गत वैशाख अन्तिम साता मोदी जनकपुर आएका थिए।

यसैबीच मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आउने जनवरीमा लाग्ने कुम्भ मेलामा सहभागी हुन निम्तो पठाएका छन्। ‘साँस्कृतिक भ्रमणका लागि प्रधानमन्त्रीको निम्तो आएको छ, के गर्ने निर्णय भइसकेको छैन,’ मन्त्री ज्ञवालीले भने। गत वर्ष फागुनमा दोस्रो पटक प्रधानमन्त्री भएका ओलीले चैतमा भारतको भ्रमण गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083