कम्बोडियाका प्रधानमन्त्री सेनद्धारा पाटन दरबार क्षेत्रको अवलोकन

5.03K
shares

काठमाडौं। कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन्। नेपाल भ्रमणमा रहेका प्रधानमन्त्री सेनले शुक्रबार बिहान ऐतिहासिल तथा पूरातात्विक महत्वको पाटन दरबार क्षेत्र भित्र रहेकोे कृष्ण मन्दिर, पाटन संग्राहलय र नजिकै रहेकोे हिरण्य वर्ण महाविहारको पनि रुचिपूर्वक भ्रमण गरेका हुन्।

बिहान करिव साँढ १० बजेतिर सो क्षेत्रमा पुगेका उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतले स्वागत गरेका थिए। त्यस अवसरमा उनको सम्मानमा नेवारी संस्कृति झल्कने खालका नेवारी बाजासमेत बजाइएको थियो।

भ्रमणका क्रममा प्रधानमन्त्री सेनले भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको पुनर्निर्माणबारे पनि चासो राखेका थिए। प्रधानमन्त्री सेनले पाटन दरबार क्षेत्रभित्र रहेका सम्पदाहरुको रुचिपूर्वक अवलोकन गर्नु भएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए। भ्रमणका क्रममा उनले छैठौं शताब्दीमा बनेको हिरण्य वर्ण महाविहारमा पूजापाठ समेत गरेका थिए।