माडीवासीका मागका सम्बन्धमा अध्यक्ष दाहालको चासो

5.34K
shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिएका छन्। सो क्षेत्रका सांसद समेत रहेका दाहालले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत माडीवासीका मागका विषयमा जानकारी लिएका हुन्।

दुई दिनअघि जङ्गली हात्तीले दुई महिलालाई आक्रमण गरी मारेपछि बिहीबार बिहानैबाट माडीवासी आन्दोलित भएका थिए। दिनभरको प्रयासपछि साँझ वार्तामार्फत आन्दोलन स्थगित गराइएको थियो। प्रजिअ बस्नेतले भने, “अध्यक्ष दाहालले माडीवासीको मागका विषयमा जानकारी लिएर त्यसलाई पूरा गराउने प्रतिबद्धता जनाउनुभएको छ।”

यसैगरी प्राविधिक टोलीले उक्त हात्तीको पहिचान गरी आवश्यकता अनुसार उनीहरुको सुझावमा दाह्रा काट्ने लगायतका कार्य गर्ने सहमति भएको छ। हात्तीलाई मार्नुपर्ने अवस्था आएमा जनप्रतिनिधि र निकुञ्जको समेत सिफारिसमा सम्बन्धित निकायमा अनुरोध गर्ने, निकुञ्ज ऐनलाई समय सापेक्ष परिमार्जन गर्ने सहमति भएको थियो।

प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार त्यस पश्चात पनि बस्ती पसेमा सो हात्ती मार्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। बिहीबार राति भने हात्ती बस्तीमा पसेको छैन । यो आर्थिक वर्षमा सो हात्तीले दुई महिलासहित तीन जनाको ज्यान लिइसकेको छ। हात्ती पर्साबाट आएको बताइएको छ। रासस