एशिया प्रशान्त शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त

4.64K
shares

काठमाडौँ । नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’का लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ। सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पारिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए। उनले अति–विशिष्ट र विशिष्ठ व्यक्ति सवार हुने क्षेत्रमा सुरक्षा अवस्थालाई समेत ध्यान दिई आवश्यकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।

“विभिन्न देशका बहालवाला राष्ट्ररसरकारप्रमुखसहित ४५ देशका पाहुन आउने भएकाले सुरक्षा व्यवस्था भरपर्दो बनाएका छौँ”, अधिकारीले भने, “परम्परागत सुरक्षा योजनाअनुसार विभिन्न घेरामा सुरक्षाकर्मी परिचालन छन्, सुरक्षा खतरालाई समेत ध्यान दिइएको छ। मुख्यगरी आवास क्षेत्र, कार्यक्रमस्थल, सडक क्षेत्रको सुरक्षामा थप ध्यान केन्द्रित छ”, अधिकारीले भने।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले सूक्ष्म अध्ययन गरी सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखेको भन्दै मातहतका सुरक्षाकर्मीलाई कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएको बताए। गृह मन्त्रालयको निर्देशनअनुसार सुरक्षाकर्मी थप गरिएकोसमेत उनले जानकारी दिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले ट्राफिक व्यवस्थापनमा कुनै समस्या नरहेको बताउँदै हरेक क्षेत्रको आवागमन सहज पारिएको बताए।

सम्मेलनमा भाग लिन टुभालुका राष्ट्रपति लाकोबा ताइया इतालेनी, म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार काठमाडौँ आइपुगेका छन्। फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदो बुधबार आएका थिए। सम्मेलनमा सहभागी हुन शुक्रबार नाउरुका राष्ट्रपति बारोन वाका र समोआका राष्ट्रप्रमुख अफिओगा तुइमालियालिफानो भालेटोआ सुवालौभी द्वितीय आउँदै छन्।

नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा इन्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), युनिभर्सल पिस फेडेरेशन (युपिएफ), इन्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाको आयोजनामा सम्मेलन हुन लागेको हो। सम्मेलन मङ्सिर १७ गतेसम्म काठमाडौँमा हुनेछ। विशिष्ट पाहुनाको सुरक्षा र यातायातको व्यवस्थापन कार्य नेपाल सरकारले गरेको छ। रासस