प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यनको कोशिस भयो : देउवा

4.99K
shares

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताउनुभएको छ । इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्धारा संयुक्तरुपमा आज यहाँ आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, काङ्ग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत रहेको पार्टी हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नयाँ संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यन गर्ने कोशिस भइरहेको उल्लेख गर्दै प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप काङ्ग्रेसलाई सह्य नहुने बताउनुभयो । काङ्ग्रेसकै नेतृत्वमा मुलुकको द्वन्द्व समाधान हुनुका साथै शान्ति प्रक्रिया सफल भएको अवगत गराउँदै उहाँले काङ्ग्रेसकै नेतृत्वमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएको बताउनुभयो ।

सभापति देउवाले प्रजातान्त्रिक समाजवाद र समावेशीतालाई अङ्गीकार गरेको नयाँ संविधानले प्रजातान्त्रिक मौलिक अधिकारको सुनिश्चितताका साथै राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको बताउनुभयो । कार्यक्रममा पार्टीका उपसभापति विमलेन्द्र निधिले प्रजातन्त्र र मानवाधिकारका लागि दशकौँ लामो सङ्घर्षपछि काङ्ग्रेसकै नेतृत्वमा नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान पाएको बताउनुभयो ।

काङ्ग्रेस महामन्त्री डा.शशांक कोइरालाले वर्तमान सरकारले निर्वाचनमा वाचा गरेअनुसार जनतालाई सेवा प्रवाह गर्न नसकेको टिप्पणी गर्दै नेपालमा प्राकृतिक स्रोत साधनको अपार सम्भावना रहेको र मुलुकमा राजनीति स्थायित्व कायम भएकाले अब सबै मिलेर समृद्धितिरको यात्रामा अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारको नौमहिने अवधि जनताका काममा भन्दा आश्वासन र नारा बाँड्नमा मात्र सीमित रहेको उल्लेख गर्दै सरकार कामभन्दा बढी प्रोपगाण्डामा लागेको आरोप लगाउनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083