सरकारले विजनेस नदिँदा सदन चल्न सकेन : राष्ट्रियसभा उपाध्यक्ष ‘शशीकला’

5.29K
shares

पोखरा । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले बिजनेस नपाउँदा सदन चल्न नसकेको बताएकी छन् । आइतबार पोखरामा पत्रकारसँगको भेटघाटमा बोल्दै उनले सरकारले बिजनेस नदिदा सदन चल्न नसकेको बताएकी हुन् । बिजनेस अभावकै कारण सदन कहिलेदेखि सञ्चालन गर्ने भन्नेमा अन्यौलता रहेको उनको भनाइ छ ।

‘सरकारले बिजनेस नदिदा सदन सञ्चालन गर्न सकिएको छैन, बिजनेसका लागि सरकारलाई हामीले घचघच्याइरहेका छौं’ दाहालले भनिन् । पुसको पहिलो साता सदन बोलाउने तयारी गरिरहेको बताउँदै उनले सरकारलाई चाँडो भन्दा चाँडो बिजनेस दिन आग्रह समेत गरिन् । उपाध्यक्ष दाहालले एक सय भन्दा बढी कानून बनाउनुपर्नेमा २२ वटा मात्र कानून बनिसकेको जानकारी दिइन् । फागुन पहिलो साताभित्र कानून बनाइसक्नुपर्ने बाध्यता रहेको बताउँदै उनले विषयगत समितिले धमाधम काम भने गरिरहेको उल्लेख गरिन् ।

सरकारले चित्त बुझ्दो रुपमा काम नगरेको बताउँदै उपाध्यक्ष दाहालले थिति बसाल्ने क्रममा भएकाले सरकारको गति सुस्त भएको हुनसक्ने बताइन् । उनले भनिन्, ‘मलाई पनि सरकारले चित्त बुझ्दो काम नगरेको महसुस हुन्छ, तर यो लामो समयदेखि कर्मचारीलाई चलाइराखेको ठाउँमा नयाँ परिवेशमा बेथितिलाई थितिमा ल्याउन समय लागेकाले होला भन्ने लाग्छ मलाई ।’ उनले सरकारलाई गति बढाएर देखिने गरी काम गर्न सुझाव समेत दिइन् ।

उपाध्यक्ष दाहालले संघीयता असफल हुनै नसक्ने दावी गरिन् । सिंहदरबारको अधिकार गाउँगाउँमा ल्याउने संघीयता असफल हुन नसक्ने उनको भनाइ छ । ‘नयाँ संरचना र नयाँ अभ्यासमा हुँदा सोंचेजस्तो काम नहुँदा यसको आलोचना भएको हो, तर यो असफल हुनु हुँदैन र हुन दिनु पनि हुँदैन’ दाहालले भनिन् । निर्मला पन्तको हत्याको प्रमाण नष्ट गर्ने कर्मचारी तथा प्रहरीलाई कडा भन्दा कारबाही गर्नुपर्ने दाहालले बताइन् ।

निर्मलाको हत्यारा ढिलो चाँडो पत्ता लाग्ने विश्वास व्यक्त गर्दै उनले भनिन्,‘निर्मला मेरै छोरीसरह हो, उनलाई परेको पीडा मेरै पीडा हो, उनलाई न्याय दिलाउनु सबैको जिम्मेवारी हो, मलाई विश्वास छ ढिलो चाँडो उनको हत्यारा पत्ता लाग्छ ।’ सरकार भेटियो, न्याय भेटिएन भन्दै भइरहेको सरकारको आलोचना राजनीतिक पूर्वाग्रहका कारणले आएको उनको जिकिर छ ।


Mitsubishi Long Ad