भूमि समस्या समाधान गर्न प्रधानमन्त्री ओलीको निर्देशन

4.6K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्।

मोरङ जिल्लाका जनप्रतिनिधिसँग आज सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्। ओलीले जनताको सरकार भएकोले यसले जनता कै हितमा काम गर्ने स्पष्ट पारे। “यो जनताको सरकार हो। यसले जनताको हितमा काम गर्छ। त्यसका लागि जे जस्ता विरोध आए पनि सामना गर्न सरकार तयार छ,” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीसमक्ष मोरङ कानेपोखरी, लेटाङ, बेलबारी, पथरीका प्रमुख, उपप्रमुखहरुले विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका छन्। प्रधानमन्त्री ओलीले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याललाई तत्कालै उक्त क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिए। सँगै रहेकी मन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गा सम्बन्धी समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारी रहेको बताइन्।

मोरङका जनप्रतिनिधिहरुले विशेष नापी गरी धनी पूर्जा वितरण गर्न माग गरेका छन्। प्रधानमन्त्री ओलीलाई भेट्न जनप्रतिनिधि सांसद घनश्याम खतिवडाको नेतृत्वमा सिंहदरबार पुगेका थिए।