काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस

4.76K
shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ। यही मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित विधानको मस्यौदामाथिको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ। सोमबारसम्म ३१ केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेको पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।

मस्यौदामाथिको छलफलमा अधिकांश केन्द्रीय सदस्यले पार्टीमा गुट उपगुट अन्त्य गर्न बहुपदमा एकल सङ्क्रमणीय निर्वाचन प्रणालीमा जानुपर्ने सुझाव दिएका छन्। बैठकमा हालको पदाधिकारी संख्या यथावत राख्नुपर्ने र केन्द्रीय कार्यसमितिको आकार बढेसँगै पदाधिकारीको सङ्ख्या पनि बढाउनुपर्नेमा छलफल जारी छ। संस्थापन पक्ष हालको पदाधिकारी संख्या यथावत राख्नुपर्नेमा पक्षमा देखिन्छ।

प्रस्तुत मस्यौदामा पदाधिकारीको सङ्ख्या र निर्वाचन प्रक्रिया हालको विधानअनुसार नै रहने व्यवस्था गरिएको छ। कार्यसमितिको सङ्ख्या भने बढाएर १४१ हुने प्रावधान राखिएको छ। हाल ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको काङ्ग्रेसमा एक सभापति एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ।

छलफलमा केन्द्रीय सदस्यहरुले सहमहामन्त्रीको सङ्ख्या बढाउनुपर्ने, काम गर्न सहज बनाउनका लागि सभापति अधिकार सम्पन्न हुनुपर्ने, क्रियाशील सदस्यको प्रावधान यथावत् राख्नुपर्नेलगायतका सुझाव दिएका छन्। केन्द्रीय समितिले पारित गरेपछि विधान मस्यौदा पार्टीको महासमिति बैठकमा पेश हुने छ। काङ्ग्रेसको महासमिति बैठक आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुदैछ।

समितिले सबै प्रदेश र आर्थिक क्षेत्रका विज्ञसँग आवश्यक सुझाव र सल्लाह लिई पार्टीको आर्थिक नीति मस्यौदा तयार गरेको जनाएको छ। यस बाहेक काँग्रेसले राजनीतिक प्रतिवेदन तयार गर्न उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा र महामन्त्री डा शशाङ्क कोइराला नेतृत्वमा पार्टीका गतिविधिसहितको सम्पूर्ण प्रतिवेदन तय गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ। विधान मस्यौदासँगै सबै प्रतिवेदनमाथि छलफल जारी रहे हालको केन्द्रीय कार्यसमिति बैठक लम्बिन सक्ने पार्टी कार्यालयले जनाएको छ। रासस


Mitsubishi Long Ad