कांग्रेस बैठक : सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्न प्रस्ताव
वि.सं.२०७५ मंसिर १८ मंगलवार १७:१०
shares

काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव गरिएको छ। पार्टीको मंगलबार पनि जारी केन्द्रीय कार्य समितिको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी सभापति सर्वसम्मत चयन हुनुपर्ने व्यवस्था विधाननै गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।
अर्का केन्द्रीय सदस्य धनराज गुरुङले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने किटानी व्यवस्था विधाननै गर्नुपर्ने आवश्यक्ता औंल्याए। पार्टी विधिसम्मत ढंगले अघि नबढेका कारण काँग्रेस कमजोर हुन पुगेको उनको भनाइ थियो। केन्द्रीय सदस्य गुरुङले पार्टीलाई विचार प्रदान गराउन पनि बाध्य बनाउने व्यवस्था विधानमा गर्न उपयुक्त हुने बताए।
नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ। पार्टीको आगामी मंसीर २८ गतेदेखि सुरु हुने महासमिति बैठकमा पेश गरिने विधान संशोधन मस्यौदामा केन्द्रित भएर बैठक चलिरहेको हो। महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रीय समितिमा पेश गरेको मस्यौदामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै सभापतिलाई दिइएको अधिकार कटौती गर्नुपर्ने, पदाधिकारी संख्या बढाउनुपर्नेलगायतका माग राखेको छ।
महासमिति बैठकका लागि आवश्यक राजनीतिक, सांगठनिक र अर्थ नीतिसम्बन्धि प्रस्ताव पनि तयार हुन लागेको र त्यसलाई पनि चालू केन्द्रीय कार्य समिति बैठकबाटै टुंगो लगाउने पनि प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। प्रस्तावित विधान मस्यौदामा ‘एक व्यक्तिः एक पद’को प्रस्ताव गरिएको छ। त्यसैगरी केन्द्रदेखि टोलसम्म ८ वटा संरचना प्रस्ताव गरिएको छ।





























