सरकारले राम्रो कामको सुरुवात त गर्यो, व्यवस्थापन गर्न सकेन : प्रचण्ड
वि.सं.२०७५ मंसिर २५ मंगलवार १३:५८
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका कामको मसिनो गरी समिक्षा हुने बताएका छन् । सिन्डिकेट तोड्ने, सुनतस्करीको जालो तोड्ने र लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्नेजस्ता राम्रा कामको सुरुवात गरेपनि त्यसको सहि ढंगले व्यवस्थापन गर्न किन सकेन ? भन्ने प्रश्न स्वभाविक रहेको धारणा राखे । मंगलबार कास्कीको मादि गाउँपालिका सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
उनले भने, ‘यसलाई टुंगोमा किन पुर्याइएन भन्ने विषयमा मसिनो गरी समिक्षा गर्दैछौं । उनले सरकारले देशभित्र केन्द्रीत भएर नयाँ गतिका साथ विकास र समृद्धिका लागि काम गर्ने अठोट पनि गरे । सरकारले अब एक वर्षमा देखिने गरी काम गरेर देखाउने पनि दाबी गरे ।
पूर्वाधार निर्माण गर्ने काम भएको छ
अध्यक्ष प्रचण्डले वर्तमान सरकारले विकास निर्माणका लागि पूर्वाधार भने खडा गरेको दाबी गरेका छन् । दशकौंदेखिको डुबान समस्या हटाइएको, हवाई रुटका लागि ४ रुट दिने कुरा, पूर्व पश्चिम रेलमार्ग निर्माणलगायतबारे सम्झौता, विराटनगरमा रहेको भारतीय कार्यालय हटाउने कुरा वर्तमान सरकारले गरेको महत्वपूर्ण काम भएको उनको विश्लेषण छ । यसैगरी चीन सरकारसँग ४ वटा बन्दरगाह तेस्रो मुलुकका लागि खुलाउने कुराले नेपालको परिभाषा ल्याण्ड लक्डबाट ल्याण्ड लिंकको रुपमा परिणत भएको उनले बताए ।
बृद्ध भत्ता अबको बजेटमा बढाउने खुलासा
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आउँदो आर्थिक वर्षमा बृद्धभत्ता बढाइने जानकारी दिए । बृद्धभत्ता नबढाउँदा सरकारले काम गरेन भन्ने गुनासो आइरहेको भन्दै उनले यो आर्थिक वर्षमा नबढेकोमा त्यसको क्षतिपूर्ति गर्नेगरी आगामि बजेटमा भत्ता बढ्ने विषयमा सहमति नै भएको खुलासा गरे । उनले भने,‘चुनावताका हामीले गरेका बृद्धभत्तासहित सबै प्रतिबद्धता पूरा गर्छौं, अझ यो वर्षको क्षतिपूर्तिसहित आउँदो वर्ष बृद्धभत्ता बढाँउछौं । उनले अर्को चुनावअघि ५ हजार बृद्धभत्ता बढ्ने दाबीसमेत गरे ।
विकास र सम्बृद्धिमा सहकार्य हुन्छ
अध्यक्ष प्रचण्डले विकास र सम्बृद्धिका लागि ठूला परियोजना सञ्चालन गर्न विपक्षिदल सहित सबैसंग राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्ने बताए । ‘विकास र समृद्धी सबैको एउटै नारा भएको छ,’ उनले भने, ‘यसलाई सफल बनाउन कांग्रेससहित सबै दल र पक्षसंग सहकार्य गरेरै अगाडि बढ्छौं ।
तल्लो तहसम्म पार्टी एकता छिट्टै
प्रचण्डले पार्टी एकताले छिट्टै तल्लो तहसम्मै पूर्णता पाउने बताए । सबैको भावना समेट्ने र विवाद नआउनेढंगले काम गर्दा एकतामा केहि ढिला भएको उनको भनाई छ । अब बस्ने स्थायी समिति बैठकले पार्टी एकीकरणका सबै प्रक्रिया टुंग्याउने उल्लेख गरे ।
चुनाव चितवनबाटै लड्छु
पहिलो संविधानसभा देखि पछिल्लो संसदीय निर्वाचनसम्म फरक फरक निर्वाचन क्षेत्रबाट निर्वाचन लडेका अध्यक्ष प्रचण्डले अब भने चितवनलाई नै आधार बनाउने प्रष्ट पारे । कास्की आफ्नो जन्मभूमि भएकाले भावनात्मक सम्बन्ध स्वाभाविक भएपनि यहिंबाट चुनाव नलड्ने स्पष्ट पारे ।












