साँघुरो घेरामा प्रधानमन्त्री ओली !

4.86K
shares

काठमाडौं । दुई तिहाई बहुमतसहित सरकारको नेतृत्व प्रधानमन्त्री केपी ओलीसँग छ । प्रधानमन्त्री ओलीका पछाडि एकीकृत पार्टी नेकपाका हजारौं नेता र लाखौं कार्यकर्ता छन् । नेकपामाथि सद्भाव राख्ने लाखौं शुभचिन्तक पनि ओलीको समर्थनमा छन् । तर प्रधानमन्त्री ओलीका काम र उनका अभिव्यक्तिलाई विपक्षी काँग्रेस र मिडियाको मात्रै होइन, नेकपाकै नेता–कार्यकर्ता र शुभचिन्तकले पनि ठूलो स्वरमा विरोध गरेका हुन्छन् ।

निर्वाचनको बेलाका वाचा अनुसार तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता पनि भयो । त्यसैको जगमा नेकपा सबैभन्दा ठूलो दल बन्यो । असर– प्रतिपक्षको भूमिकामा काँग्रेस कमजोर भयो । तर विपक्षी काँग्रेसभन्दा आफ्नै पार्टीका नेताबाट प्रधानमन्त्री ओलीको आलोचना बढी छ । यस्तो किन भएको होला ? पक्कै पनि गम्भीर प्रश्न हो यो ।

लामो राजनीतिक अस्थिरता त्यतिबेला अन्त्य भयो, जब जनताले वामगठबन्धनलाई झन्डै दुई तिहाई बहुमत दिए । यसैको जगमा स्थायी सरकार बन्यो, त्यो पनि दुई तिहाईको । नेपालको राजनीतिक इतिहासमा सबैभन्दा शक्तिशाली सरकार कसैले पाएका थिएनन् । यस अर्थमा प्रधानमन्त्री ओली शक्तिशाली प्रधानमन्त्रीको छन् ।

तिनै शक्तिशाली प्रधानमन्त्री ओलीले संसदमा दुई तिहाईको बहुमत पाए पनि पार्टीभित्र अपेक्षाकृत सहयोग पाएका छैनन् । त्यसैले प्रधानमन्त्री ओलीले कहिले विपक्षीमाथि अरिङ्गाल बन्न कार्यकर्तालाई निर्देशन दिनुपरेको छ भने कहिले सरकारको कामको प्रचार गर्न पार्टी नेतालाई आग्रह गर्नुपरेको छ । आखिर प्रधानमन्त्रीले आफ्नै पार्टीका नेता–कार्यकर्तालाई हारगुहार गर्ने अवस्था किन आयो ? यो प्रश्न अहिले नेकपाभित्र साझा जस्तो छ ।

समस्या के हो त ?

पार्टीका अधिकांश शीर्ष नेता नै प्रधानमन्त्रीको कार्यशैलीबाट सन्तुष्ट देखिँदैनन् । पार्टीका शीर्ष नेतासँग प्रधानमन्त्री बेलाबेला भेटघाट गरिरहेका छन् । सुझाव पनि दिएका छन् । तर निर्णायक प्रधानमन्त्रीको साँघुरो टिम नै बनेको छ । सरकार र पार्टीबीच समन्वयको अभाव छ । यही अभावले प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट असहयोग हुँदै गएको छ ।

प्रधानमन्त्री ओलीले तीन राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रीमण्डल बनाएका छन् । सरकार सञ्चालनका लागि विशेषज्ञसहितका सल्लाहकार टिम प्रधानमन्त्रीसँग छन् । विगत सरकारको नेतृत्व गरेका अनुभवी नेता प्रधानमन्त्रीकै पार्टीमा छन् । तर पनि सरकार आलोचनाको चौतर्फी घेराबन्दीमा परेको छ । यस्तोमा निःसन्देह प्रश्न उठ्छ, सर्वत्र आलोचना हुनेगरी प्रधानमन्त्री ओलीले कस्तो टिमसँगको परामर्शमा काम गरिरहेका छन् त ?

किन आफ्नै पार्टीका शीर्ष नेताहरू प्रधानमन्त्री र उनको टिमबाट सन्तुष्ट छैनन् ? यसमा राजनीतिक विश्लेशकहरू ‘प्रधानमन्त्री ओलीको कार्यशैली र साँघुरो टिम’ नै प्रमुख कारण रहेको बताउने गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई कसरी अघि बढाउने भन्ने विषयमा सीमित मन्त्री र पार्टीका थोरै (आफ्नो गुट निकटका) नेताहरूसँग मात्र छलफल र सल्लाह गर्ने गरेका छन् ।

त्यस्तै स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले सबैभन्दा धेरै सल्लाह लिन्छन् । हरेक पटक राष्ट्रपतिसँगको संवादपछि प्रधानमन्त्रीले निर्णय लिने गरेका छन् । त्यस्तै प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग पनि बढी संवाद गर्छन् । मुख्यत प्रधानमन्त्रीको सचिवालयलाई साँघुरो बनाउन रिमालले हस्तक्षेपकारी भूमिका खेलेको भन्दै पार्टीभित्रै पनि उनको आलोचना हुने गरेको छ । त्यस्तैःपार्टी महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग पनि सामान्य संवादमा गर्ने गर्छन् ।

त्यस्तै स्रोतका अनुसार प्रधानमन्त्रीले अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, प्रेस सल्लाहकार डा.कुन्दन अर्याल र महान्यायाधिवक्ता अग्नि खरेलसँग पनि परामर्श लिन्छन् । स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी र राजेश बज्राचार्यले सचिवालय समालेका छन् ।

तर समन्वय गर्दैनन् पार्टीका शीर्ष नेतासँग

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेकपाका अर्का अध्यक्ष प्रचण्ड सन्तुष्ट देखिँदैनन् । प्रधानमन्त्रीको एकल निर्णय लिने बानी प्रचण्डलाई मन परेको छैन । बेलाबेला प्रचण्ड सरकारको बचाउमा उत्रे पनि कैयौँ निर्णयमा उनको खुलेरै असन्तुष्टि रहेको छ । प्रधानमन्त्री ओलीले सरकारको कामकारवाही बारे परामर्श लिने नगरेको प्रचण्ड नजिक रहेका नेताहरू बताउँछन् ।

प्रचण्ड निकट नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्री ओलीले पार्टीका कामबाहेक प्रचण्डसँग सरकार सञ्चालनबारे कुनै परामर्श गर्दैनन् । ती सदस्य भन्छन्, ‘प्रधानमन्त्रीले साँघुरो घेरामा काम गर्न रुचाउनुहुने रैछ । उहाँले अध्यक्ष प्रचण्डसँग पनि सरकारका कामकारवाहीलाई लिएर खासै संवाद गर्नुहुन्न ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टीका झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ खुलेरै सरकारको काममाथि असन्तुष्टि जनाउनुले पनि नेकपा र सरकारबीच कहीँ न कहीँ समन्वयको अभाव देखाउँछ । यसको उदाहरण केही समयअघि एक टीभीलाई दिएको अन्तरवार्तामा नेता गौतमले प्रधानमन्त्री ओलीले आफूसँग कुनै परामर्श नगरेको बताएका थिए । सरकारका कामकारवाहीप्रति खुलेरै असन्तुष्टि व्यक्त गर्दै आएका वरिष्ठ नेता खनालले पार्टी र सरकार कसरी चल्छ ? भनेर गम्भीर प्रश्न नै उठाएका छन् ।

स्रोतका अनुसार मन्त्री र पार्टी महासचिवमा अध्यक्ष ओलीबाट धोका पाएको दाबी गर्दै आएका रक्षा मन्त्री ईश्वर पोखरेलसँग ओलीको पहिला जस्तो राम्रो सम्बन्ध छैन । यद्यपि पछिल्लो समय प्रधानमन्त्रीको बचाउमा रक्षा मन्त्री देखिन थालेका छन् । त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि प्रधानमन्त्री खासै संवादमा रहँदैनन् ।

सरकार सञ्चालनमा एकल निर्णय गर्ने प्रधानमन्त्री ओलीको कार्यशैली सचिवालय र स्थायी समितिमा रहेका अधिकांश नेतालाई मन परेको छैन् । प्रधानमन्त्री ओलीमाथि तत्कालीन एमालेका धेरै नेताका थुप्रै आरोप छन् । ओलीको व्यक्तिगत स्वभावले पनि धेरै नेता चिढिएका छन् । उनी प्रशंसा मात्र सुन्न चाहान्छन् । आफ्ना आसेपासेलाई मात्रै मौका दिएको ओलीमाथि अर्को आरोप छ । सचिवालय निर्माणदखि मन्त्री छनोटसम्ममा ओलीमाथि तत्कालीन एमालेका नेताले धेरै प्रश्न उठाउँदै आएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083