महासमिति बैठकअघि निरन्तर छलफलमा कांग्रेस, सहमति जुटाउनै सकस
वि.सं.२०७५ मंसिर २७ बिहीवार १३:१४
shares

काठमाडौं । करीब दुई सातादेखि चलिरहेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विधान संशोधन मस्यौदामा देखिएको विवाद हल हम्मेहम्मे परेको छ । नेताहरू फरक–फरक समूहमा विभाजित भएपछि कांग्रेसलाई यो विषय हल गर्न फलामको च्यूरा चपाए सरह भएको हो ।
मंसिर २९ गतेदेखि शुरू हुने महासमिति बैठकको तयारीमा कांग्रेसले केन्द्रीय समितिबाट राजनीतिक प्रस्ताव र आर्थिक प्रतिवेदन पारित गर्यो, तर प्रतिवेदनमा समावेश कतिपय विषयमा एकमत हुन सकेको छैन । यस्तै विधान संशोधनका विषयमा पनि बिमति कायम छ । संस्थापन पक्षले पदाधिकारीको संख्या नबढाउने अडान लिएको छ भने रामचन्द्र पौडेल पक्षीय नेताहरूले पदाधिकारी बढाएर ११ जना पुर्याउने अडान लिएपछि विवाद बढेको छ ।
केन्द्रीय समिति बैठक आज पनि डाकिएको छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधान संशोधन मस्यौदा र अन्य प्रस्तावमा सहमति जुटाउन अन्तिम प्रयास गरिने जानकारी प्रवक्ता शर्माले दिएका छन् । स्रोतका अनुसार सहमति जुट्न नसकेको खण्डमा वैकल्पिक प्रस्ताव लैजाने विषयमा पनि छलफल चलिरहेको छ ।
































