‘समाजलाई केन्द्रीकृत गर्न सहकारीको ठूलो योगदान छ’ : मन्त्री मगर

3.51K
shares

कञ्चनपुर । खानेपानी मन्त्री बीना मगरले विकेन्द्रित भईरहेको समाजलाई केन्द्रीकृत गर्न सहकारी संस्थाहरुले ठूलो योगदान दिईरहेको बताएकि छिन् । कञ्चनपुरको पुनर्वास नगरपालिकामा अवस्थित दलित बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले समाजलाई केन्द्रीकृत गरी सहकारी संस्थाहरुले सकारात्मक सन्देश दिईरहेको बताएको हो ।

साधारण सभाको उद्घाटन गर्दै उनले भनिन्, “हाम्रो समाज विकेन्द्रित भईरहेको छ । यस्तो अवस्थामा सामुहिकतामा काम गर्ने अभ्यास सहकारी संस्थाहरुले गरिरहेका छन् । सामुहिक लगानी, सामुहिक उपलब्धि र समस्याको सामुहिक हल खोज्ने राम्रो माध्यम सहकारी बनेको छ ।”

उनले समुदायका व्यक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरी सहयोगको भावना जागृत गराउन सहकारीले महत्वपूर्ण संस्कार अँगालेको बताइन् । सामुहिकतामा काम गर्ने अभ्यास सहकारीले गरेको भन्दै उनले विपन्न वर्गका समुदायको जीवनस्तर माथि उकास्न सहकारीको भूमिका अतुलनीय रहेको जिकिर गरिन् । सहकारीलाई नकारात्मक ढंगबाट मात्रै नबुझ्न उनले सबैलाई आग्रह गरिन् ।