गौतमको प्रस्तावमा प्रचण्डको साथ, ओली-गौतम टक्कर बैठकमै देखिने
वि.सं.२०७५ पुस २ सोमवार १२:३५
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेता वामदेव गौतम आज आमने सामने हुने भएका छन् । वैठकमा फरक प्रस्ताव पेश भएपछि बाहिर सुरु भएको टिप्पणी र घोचपेच आज बैठक स्थलमा नै देखिनेछ । राजनीतिक प्रतिवेदन माथिको छलफल आजबाट सुरु हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन र सचिवालय सदस्य बामदेव गौतमले राखेको फरक मतका विषयमा बैठकमा छलफल हुनेछ ।
गौतमले फरक मत राखेपछि पार्टीभित्र विभिन्न कोणबाट बहस शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड निकटका नेताले सांसद पद नपाएका कारण बामदेवको छुट्टै प्रतिवेदन आएको टिप्पणी गर्न थालेका छन् । नेता गौतमले आफुले पद नपाएको झोंकमा नभई पार्टीको दस्तावेज र घोषणापत्र निर्माणको अनुभवका आधारमा यर्थाथमा आधारित प्रतिवेदन प्रस्तुत गरेको बताए ।
नेता गौतमले पार्टी दुई अध्यक्ष र महासचिवले चलाएको, तल्लो तहसम्मको पार्टी एकिकरणलाई बेवास्ता गरिएको, चुनावी घोषणापत्रका कार्यक्रम कार्यान्वयन नगरिएको लगायतका असहमती जनाउँदै हिजो फरक मत सहितको प्रतिवेदन स्थायी कमिटी बैठकमा पेश गरेका थिए । बैठकमा गौतमको प्रस्तावमा बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, धनश्याम भूषाल लगायतका नेताहरुको साथ रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गौतमको प्रस्तावमा असहमति राखेका छैनन ।
































