नेकपा बैठकमा सरकारको चर्को आलोचना, सचिवालय असफल भएको आरोप
वि.सं.२०७५ पुस २ सोमवार १६:४२
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा विहान साढे ११ बजेदेखि बसेको बैठकमा स्थायी कमिटीका सदस्यहरुले अध्यक्षद्वय र वामदेव गौतमले पेश गरेको दस्तावेजमाथि आफ्नो धारणा राखेका थिए । वामदेव गौतम, घनश्याम भुसाल, हरिबोल गजुरेल, योगेश भट्टराई लगायत १० जनाले आजको बैठकमा आफ्नो धारणा राखेका थिए ।
बैठकमा आफ्नो धारणा राख्दै नेता गौतमले आफ्नो प्रतिवेदन पुरक र फरक दस्तावेज नभइ सहयोगी दस्तावेज भएको बताएका थिए । धारणा राख्ने अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टी सञ्चालन र सरकारका कामकारवाहीका विषयमा चर्को आलोचना गरेका थिए । स्थायी कमिटी सदस्य योगेश भट्राइले दुई तिहाइ नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गरे ।
सरकारका काम कारवाही त्यति प्रभावकारी छैनन्, केही राम्रो काम गरेको छ तर कतिपय निर्णयहरु गर्दा पार्टीमा कुनै छलफल भएन । अर्का नेता घनश्याम भुसालले पार्टीको सचिवालय असफल भएको बैठकपछि सञ्चारकर्मीहरुसँग बताए । सचिवालय असफल भयो, सचिवालयको व्यक्तिगत क्षमता र योग्यता देखियो’ भुसालले भने,‘प्रदेश कमिटीहरुमा आफ्ना मान्छे खोजिखोजी राख्ने काम भयो ।
पार्टी प्रवक्ता नारयणकाजी श्रेष्ठले बैठक भोलि विहान ८ बजे बस्नेगरि सकिएको जानकारी दिए । आज बसेको बैठकमा नेता हरिबोल गजुरेलले छुट्टै प्रस्ताव पेश गरेका छन् । उनले पार्टी सञ्चालन र सरकार सञ्चालन बारे आफ्नो प्रस्तावमा धारणा राखेका छन् ।






























