प्रधानमन्त्रीको बेवास्ताले धर्मसंकटमा राजपा

4.8K
shares

काठमाडौं । १ साताभित्र संविधान संशोधनको प्रक्रिया थाल्ने आश्वासन पाएपछि समर्थन फिर्ता नलिने मुडमा पुगेको राष्ट्रिय जनता पार्टी (राजपा) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर बेवास्ता गर्दै आइरहेका छन् । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले संसदमा संविधान संशोधनको विषय उठाउने भनिएपनि व्यस्ततालाई कारण देखाउँदै बोल्ने कार्यक्रम रद्द गरिएको थियो ।

राजपा अध्यक्षमण्डलका नेतासँग पुस १० गते सरकारी निवास वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले १ साताभित्र संविधान संशोधनको प्रक्रिया शुरू गर्ने प्रतिवद्धता जनाएका थिए । संविधान संशोधन गरेर आफ्ना माग पूरा गर्नुपर्ने, कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् रेशम चौधरीमाथि लगाइएको मुद्दा फिर्ता लिएर चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुपर्ने मागमा छलफल भएको थियो ।

सरकारलाई समर्थन गरेको राजपाले आफ्ना कुनै पनि माग सम्बोधन नभएको भन्दै ३ महिनाअगाडि नै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । राजपाका नेताहरूले सरकारको रवैया र बेवास्ता ठीक नभएको प्रतिक्रिया दिएका छन् । ‘आज प्रधानमन्त्री ज्यूले संसदमा संविधान संशोधनबारे सम्बोधन गर्ने कार्यक्रम थियो । तर त्यो रद्द भएको हामीले थाहा पाएका छौं,’ अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले लोकान्तरसँग भने, ‘सरकारको असली चरित्र के हो ? जनताले थाहा पाउनुपर्छ ।

‘भोलि हामीले यत्तिकै समर्थन फिर्ता लिने निर्णय गर्यौं भने उनीहरूले हामीले संशोधन गर्न–गर्न खोजेका थियौं तर तपाईहरूले समर्थन फिर्ता लिइदिनुभयो भनेदेखि हाम्रो जवाफ के हुने ?’ यादवले प्रश्न गरे । प्रधानमन्त्री ओलीले आफ्ना मागहरू निरन्तर बेवास्ता गरेको विषयमा एकचरण आन्तरिक छलफल गर्ने यादवको भनाइ छ । फरक प्रसङ्गमा संघीय समाजवादी फोरमसँग गर्ने भनेको एकता सम्भव नभएको यादवले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083