झापाली टोलीसँग प्रधानमन्त्रीको प्रतिबद्धता– विकास निर्माणले गति लिन्छ
वि.सं.२०७५ पुस १८ बुधवार १६:३३
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताउनुभएको छ । झापाका नेकपा नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरूसँग बुधवार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले कतिपय विकास निर्माणका योजना प्रदेश वा संघ कसले सञ्चालन गर्ने भनेर द्विविधा भएकोले केही ढिलाइ भएको बताउनुभयो ।
‘यस्ता द्विविधाले पुरानाभन्दा नया–नयाँ योजना बनाउनेतिर सबैको ध्यान गयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब कस्ता योजना कसले सञ्चालन गर्ने भनेर स्पष्ट भइसकेकोले सबै योजनाहरु तिव्रताका साथ अगाडि बढ्छन् । सो अवसरमा प्रधानमन्त्री ओलीको गृहनगर दमकका प्रसासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले दमकमा सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाहरूको प्रगति बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
प्रतिनिधि मण्डलका सदस्यहरूले प्रधानमन्त्रीसामु आफूहरूका विभिन्न माग राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले झापाली जनप्रतिनिधीहरूले राखेका मागबारे आफू सकारात्मक रहेको बताउनुभएको छ । प्रतिनिधि मण्डलमा नेकपाका केन्द्रीय सदस्य नरेश खरेल र देवेन्द्र दाहाल सांसद पवित्रा निरौला खरेल, पूर्वसासद दीपक कार्की, जिसस झापाका संयोजक सोमनाथ पोर्तेल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेकपाका नेताहरू चिन्तन पाठक, गगन पुरी लगायत सहभागी थिए ।





























