दीर्घकालीन योजनालाई प्राथमिकता दिनुपर्छ – अध्यक्ष तिमिल्सिना

6.83K
shares

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लामो समयको राजनीतिक लडाइँपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै अब दीर्घकालीन योजना बनाएर अघि बढेमा विकासका कामले गति लिने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशले प्रथम पञ्चवर्षीय योजना तर्जुमा गर्न पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत सुझाव सङ्कलन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सङ्घ, प्रदेश र स्थानीय तहले आ–आफ्नो स्रोतले भ्याउने खालका योजना छनोट गर्नुपर्ने बताउनुभयो ।

उहाँले छोटो समयको भन्दा कम्तीमा २० वर्षे अवधिका योजना बनाउन सुझाव दिँदै राष्ट्रियस्तरका योजना सङ्घीय, प्रदेशस्तरका योजना प्रदेश सरकारले र सानातिना स्थानीय तहले योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । तिमिल्सिनाले विकासको नयाँ ढाँचा बनाएर काम थाल्नुपर्ने बताउँदै समृद्धिको अभियानलाई सफल पार्न तिनै तहका सरकारबीच समन्वय गरेर एकीकृत विकासको ढाँचाबाट अघि बढ्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशले निर्धारण गरेका दिगो विकासका लक्ष्यसँग तादम्यता हुने गरी प्रदेशका कार्यक्रम तर्जुमा गर्न उक्त कार्यक्रमले फाइदा दिने हँुदा योजना आयोगले तयार पारेको पञ्चवर्षीय योजना अध्ययन गरेर रचनात्मक सुझाव दिन आग्रह गर्नुभयो । योजना तर्जुमा गर्दा आर्थिक समृद्धि र जनता सुखी हुने उपयुक्त सूचक विकास गरी ती सूचकअनुरूप विकासका कार्य अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य जुनादेवी नेपाली, फलेवास नगरपालिका प्रमुख पदमपाणि शर्मा, नेकपाका जिल्ला नेता भक्तबहादुर कुँवर, नेपाली काङ्ग्रेस जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका धनराज सुनार, नयाँशक्ति नेपालका केन्दीय सदस्य महेन्दजङ्ग लामिछाने, उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष केदारनाथ शर्मा लगायतले प्रदेशको दीर्घकालीन विकासका लागि योजना बनाउनुपर्ने सुझाव दिनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083