हिन्दु राष्ट्र पुनस्थापनाको माग गर्दै राप्रपाद्वारा आन्दोलनको घोषणा
वि.सं.२०७५ पुस १८ बुधवार १७:२३
shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन सात देखि संचालन हुने हिन्दु राष्ट्र पुनस्थापना आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हिन्दु राष्ट्र पुनस्थापनाको आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकार दिए।
राप्रपाले फागुन सात गने काठमाडौंमा संघीय सरकार, प्रदेश राजधानीमा प्रदेश सरकार तथा जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमा हिन्दुराष्ट्र पुर्नस्थापना लगायतका मागहरु सहितको ज्ञापनपत्र दिने निर्णय गरेको छ। यसैगरी ज्ञापनपत्रमा उल्लेख भएका मागहरु पूरा गर्न सरकारलाई फागुन मसान्तसम्मको अल्टिमेटम दिने निर्णय गरेको श्रेष्ठले जानकारी दिए। आफूहरुका माग पूरा नभए चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्ने राप्रपाले चेतावनी दिएको छ।
राप्रपाले माघ १३, १४ र १५ गते देशका सबै स्थानीय तहमा हिन्दु राष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण अभियान र सभा सञ्चालन गर्ने, उक्त प्रयोजनको लागि पार्टी केन्द्रले केन्द्रीय प्रतिनिधि खटाउनेछ, राप्रपाको संगठन सुदृढीकरण अभियानलाई ध्यान दिई केन्द्रीय कार्य समितिका प्रत्येक सदस्यले अनिवार्य रुपले प्रदेश सभा वा संघीय संसदमा आफ्नो निर्वाचन क्षेत्र छान्नुपर्ने, छानिएका निर्वाचन क्षेत्रको जानकारी एक हप्ता भित्र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने र निर्वाचन क्षेत्र छनौट नगरेका सदस्यलाई संघीय र प्रादेशिक निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उमेदवार नबनाउने निर्णय गरेको छ।
पुस २७ गते राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक बिदा दिन राप्रपा सरकारसँग माग गरेको छ। यसैगरी वाइडबडी जहाज खरिद प्रकरणमा संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले अनियमितता भएको ठहर गरेको विषयलाई गम्भीरतापूर्वक लिइ तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन राप्रपा सरकारसँग माग गरेको छ।



















