मन्त्री रविन्द्र अधिकारीलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए, संसदमा बोल्नुअघि ३ घण्टा छलफल
वि.सं.२०७५ पुस २२ आइतवार १३:१२
shares

काठमाडौं । वाइडबडी खरिद प्रकरणको भ्रष्टाचारलाई लिएर सडकदेखि सदनसम्म विरोध भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई वालुवाटार बोलाए छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले सदनमा आज वाइडबडी खरिद प्रकरणमा उठेका प्रश्नको जवाफ दिँदै छन् । जवाफ दिनुभन्दा पहिले मन्त्री अधिकारीसँग छलफल गरेका छन् ।
संसदमा जवाफ दिने निश्चित भएपछि शनिवार प्रधानमन्त्री ओलीले पर्यटनमन्त्रीलाई बालुवाटार बोलाएका थिए । मन्त्रीसँग तीन घण्टा छलफल गरेको स्रोतले बताएको छ । सार्वजनिक लेखा समिति अन्तर्गगतको छानविन उपसमितिले वहालवाला मन्त्री रविन्द्र अधिकारी पनि भ्रष्टाचारमा मुछिएको भन्दै कारवाहीको सिफारिस गरेको छ । तर सत्तापक्षका सांसदहरुले भने छानविन समितिको प्रतिबेदन प्रतिशोधपूर्ण भएको भन्दै विरोध गरेका छन् ।
सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलिरहेका बेला प्रधानमन्त्री ओलीले आज संसदमा जवाफ दिने भएका छन् । संसदको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेको थियो । देउवाको माग अनुसार सरकारले छानविन समिति पनि बनाएको छ । सरकारले छानविन समिति बनाएपछि फेरी देउवाले बोली फेरेका छन् । उनले भ्रष्टाचारीलाई बचाउन सरकारले छानविन समिति बनाएको भन्दै आलोचना गरेका छन् ।
































