मुख्यमन्त्री राउतलाई मन्त्री यादवको चेतावनी : ‘विकासविरोधी चरित्र नदेखाउनुस्’
वि.सं.२०७५ माघ १३ आइतवार १५:०७
shares

जनकपुर । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई मधेश आन्दोलनको ध्वाँस नदेखाउन चेतावनी दिएका छन् । मन्त्री यादवले मुख्यमन्त्री राउतलाई विकास विरोधी चरित्र प्रदर्शन नगर्न सुझाव दिदै यस्तो चेतावनी दिएका हुन् ।
आइतबार जनकपुरमा भएको पत्रकार सम्मेलनमा मन्त्री यादवले प्रदेश सरकारको बोली र व्यवहारमा ठेगान नरहेको आरोप पनि लगाए । मन्त्री यादवले प्रदेश २ सरकार विकास तथा समृद्धिप्रति प्रतिबद्ध नभएको भन्दै जनकपुर चुरोट कारखाना लिमिटेड सञ्चालनका लागि सत्तारुढ संघीय समाजवादी फोरम नेपाल लगायत सबै दल सहमत रहेका बेला जानकारीविनै प्रदेश सरकारले जचुकाली कब्जा गरिरहेको बताए ।
उनले कारखाना सञ्चालनमा अवरोध गर्ने मनसायले मधेश आन्दालेनका नाममा गतिविधि भइरहेको समेत बताए । ‘प्रदेशका जनतालाई रोजगारीको लागि उद्योग सञ्चालन गर्न अपरिहार्य छ । त्यसकारण कब्जा गरिएको जग्गा र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बोर्ड तत्काल हटाउन समेत अनुरोध गर्दछु’ मन्त्री यादवको भनाई छ ।
मन्त्री यादवले मुख्यमन्त्री राउतलाई जचुकाली सञ्चालनका लागि वातावरण बनाउन सहयोग गर्न आग्रह गर्दै मुख्यमन्त्रीको कार्यालयले विस्तार गरेको क्षेत्र हटाउन आग्रह गरिएको बताए । उनले सरसल्लाह अनुसार नै प्रदेश मन्त्रालयको कामकाज गर्न भने पनि जचुकाली सञ्चालनमा अवरोध नगर्न पहिला पनि भनेको पत्रकार सम्मेलनमा जानकारी दिदै यादवले भने– ‘तर मुख्यमन्त्री राउतले त जचुकाली सञ्चालनका बारेमा गम्भीर नभइ पहिला विरगंजस्थित चिनी मिल सञ्चालन गरेर देखाउन पो भन्छन् । जबकि सरकारले बन्द कारखाना तथा उद्योग सञ्चालनका लागि नीति ल्याउदै गरेका बेला यसरी मुख्यमन्त्री राउतले बोल्नु मधेश आन्दोलनको भावना विपरित छ ।’
उनले जचुकाली सञ्चालनका लागि ४ जना चाइनिज र २ जना भारतीय लगानीकर्ताहरुसँग निरन्तर संवाद र सम्पर्क भइरहेको भन्दै विदेशी लगानीकर्ताहरु जचुकाली अनुगन गर्न जनकपुर आईरहेका बेला जचुकालीको बोर्ड समेत हटाएर कारखाना सञ्चालन प्रति गम्भिर नहुनु दुखद रहेको बताए । जचुकालीलाई पब्लिक–प्राईभेट पार्टनरसीप अनुसार चलाउने तयारीस्वरुप छलफलहरु भइरहेको मन्त्री यादवको भनाई छ ।





























