मन्त्रिमण्डल पुनर्गठन निश्चित,पाण्डे, शर्मा र भट्टराईलाई मन्त्री बनाउने पक्का,को हट्दै छन्?
वि.सं.२०७५ फागुन ८ बुधवार ११:५५
shares

काठमाडौँ । सरकार गठनको एक वर्ष पछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठन गर्ने निष्कर्षमा पुग्नु भएको छ। समाचार अनुसार उहाँ केही व्यक्तिलाई मन्त्रिमण्डलबाट हटाएर नयाँ मानिसलाई सामेल गर्न चाहनुहुन्छ भने केहीको विभाग बदल्ने सोच उहाँले बनाउनु भएको छ। यस विषयमा केपीले सहअध्यक्ष प्रचण्डसँग पनि एक चरणको समझदारी बना इसक्नु भएको बुझिएको छ।
हालका मन्त्रीहरूमध्ये कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’, उद्योगमन्त्री मातृका यादव, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको कामबाट प्रधानमन्त्री असन्तुष्ट रहनु भएको बताइएको छ।
त्यसो त मलेसियामा रोजगारी सुचारु गराउन नसकेकोमा गोकर्ण विष्टसँग पनि असन्तुष्ट रहनु भएको, तर पछिल्लो समयमा विष्टका कतिपय कार्यव्यवहारबाट प्रधानमन्त्री खुसी हुनु भएको ठानिएको छ। तथापि प्रचण्डले गोकर्ण विष्टलाई श्रम मन्त्रालयको जिम्मेवारीबाट हटाउन दबाब दिएकोले विष्टलाई अर्को कुनै विभागको जिम्मेवारी दिइने सम्भावना छ।
मन्त्रिमण्डलमा नेताहरू सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र योगेश भट्टराईलाई सामेल गर्नेबारेमा छलफल चलेको बुझिएको छ। प्रधानमन्त्री ओलीका आलोचकहरूले योगेश भट्टराईलाई केपीको मन्त्रिमण्डलमा सामेल नहुन सुझाव-दबाब दिएको पनि समाचार सूत्रहरूले जनाएका छन्। मन्त्रिमण्डलबाट मातृका यादव, रवीन्द्र अधिकारी र चक्रपाणि खनाललाई बिदा गरिने सम्भावना छ भने युवराज खतिवडा र प्रदीप ज्ञवालीको विभाग परिवर्तन गर्ने विषयमा पनि छलफल भएको बताइन्छ।
रामबहादुर थापा बादललाई गृहको जिम्मेवारीबाट पन्छाउन प्रचण्डले चाहेकोले उनको पनि विभाग बदलिने या मन्त्रिमण्डलबाट नै बिदाइ हुन सक्ने सम्भावना रहेको छ। मार्च महिनामा लगानी सम्मेलन आयोजना गरिएकोले त्यसअघि अर्थमन्त्री बदल्नु उपयुक्त हुने या नहुने विषयमा पनि उच्च तहमा छलफल भएको बुझिएको छ।
मन्त्रिमण्डल पुनर्गठन गरिने निश्चित भइ सकेको भए पनि कहिले गर्ने भन्ने विषयको टुङ्गो भएको छैन। तर, बालुवाटारको एक सूत्रले जनाएअनुसार प्रधानमन्त्री केपी शर्मा ओली यथाशीघ्र मन्त्रिमण्डल पुनर्गठन गर्ने मानसिकतामा हुनुहुन्छ, त्यसैले कुनै पनि बेला यो कार्य सम्पन्न भएको खबर सार्वजनिक हुन सक्नेछ।






























