पशुको ज्यानमा मान्छेको टाउको राखेर अपमानित गर्न छुट दिइदैंन : मन्त्री बास्कोटा
वि.सं.२०७५ फागुन १० शुक्रवार १५:३०
shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने बताएका छन्। सूचना प्रविधिमा अब्बल र प्रजातान्त्रिक मुलुकहरुमा यस्तो व्यवस्था रहेको भन्दै मन्त्री बास्कोटाले नेपालमा पनि यो व्यवस्था गर्न लागेको बताए।
‘चाहे फेसबुक होस्, चाहे ट्वीटर होस्, चाहे वीच्याट, किमोको होस्, चाहे गुगलको होस्। अन्त खोल्न हुन्छ, हामीकहाँ खोल्न हुँदैन ? उनले भने ‘स्वतन्त्रताका नाममा एउटा शब्दाबलीभित्र जे गरे पनि हुन्छ भन्ने हुन्न। हाम्रो पनि स्वाभिमान छ, हाम्र्रो देश हो, हाम्रो जनता हुन्, त्यसैले हामीले यो व्यवस्था गरेको हो।
उनले अगाडि भने ‘‘राष्ट्रिय सुरक्षामा चुनौती दिएर केही कुरा राख्यो भने त्यसको कम्प्लेन गर्ने ? सरकारले हालै संसदमा दर्ता गरेको सूचनाप्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले कहिँ नभएको कुरा नेपालमा मात्र ब्यवस्था गर्न लागेको नभई अन्य देशले गरेको व्यवस्था नेपालमा पनि अनुकरण गरिएको बताए।
‘कहिँ नभएको कुरा यहाँ गर्न खोजिएको भन्ने होइन, यसले आलोचकलाई दण्डित गर्दैन। तर पशुको ज्यानमा चिनिएको मान्छेको टाउको राखेर पनि अपमानित गर्ने कुरा संस्कार र संस्कृतिलाई छुट नदिने नै हो। मन्त्री बास्कोटाले भने। उनले कसैप्रति पूर्वाग्रह साँध्नका लागि विधेयक नल्याइएको प्रष्टीकरण दिए। ‘हाम्रो सामाजिक हिसाबले हो, छिमेकी देशले पनि यस्ता ऐन कानून लेराएकै छन्’ उनले भने।
मन्त्री बास्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यक्तिगत रुपमा दर्ता गर्ने नभई सामाजिक सञ्जाल सञ्चालक दर्ता हुने व्यवस्था गरिएको पनि बताए। सूचना प्रविधि ऐनले प्रेस स्वतन्त्रतालाई कहिँ पनि खण्डित र संकुचित नगर्ने मन्त्री बास्कोटाले बताए। ‘प्रेस मेन स्ट्रिम जर्नलिजम भित्र पर्छ। सामाजिक सञ्जाल नागरिक अधिकारभित्र पर्छ’ उनले भने।































