‘सत्ताको चास्नी मा डुबेर क्रान्तिकारी नेताले भ्रष्टाचार गरे’ : बाबुराम भट्टराई
वि.सं.२०७५ फागुन १४ मंगलवार १६:०१
shares

डडेल्धुरा। नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ‘क्रान्तिकारी’ नेता सत्तामा पुगेपछि भ्रष्ट भएको बताएका छन्।
जनसंवाद यात्राका क्रममा डडेल्धुरा सदरमुकाम आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले क्रान्तिकारी नेताहरुले सत्तामा पुगेपछि आफ्नो निष्ठा, आर्दश भुलेर भ्रष्टाचार गरेको बताएका हुन। ‘हामी सबै पार्टीका साथीहरु क्रान्तिकारी हौं, सबै साथी जेल बस्नु भएको हो’ उनले भने ‘तर, सत्तामा पुगेपछि रेकर्ड राम्रो छैन। जानेर होस् वा नजानेर भ्रष्टाचार भयो।’
२०४६/४७ मा कांग्रेस, ०५४/५५ मा तत्कालीन एमाले र २०६३/६४ पछि तत्कालीन माओवादी सत्तामा गएको स्मरण गर्दै उनले भने, ‘सत्तामा पुगेपछि सबैले आफ्नो आदर्शलाई बिर्सिएका छन्, जसरी गुलियोमा डुबेको झिँगा उड्न सक्दैन, त्यसरी नै क्रान्तीकारी साथीहरु सत्ताको चास्नीमा डुबेर ठुला-ठुला भ्रष्टाचार प्रकरण भएको हामीले देखेका छौं।’
‘हिजोका क्रान्तिकारी भनिने कम्युनिष्ट र लोकतन्त्रवादी भनिने कांग्रेसका साथीहरुले समेत पञ्चायत र राणाकालको जस्तै भ्रष्टाचारका काण्ड गरे। त्यतिबेला लुुकाएर हुन्थ्यो आज भोलि हाक्काहाक्की भ्रष्टाचार गरे, चाहे वाइडबडी काण्ड भन्नुस्, चाहे बुढीगण्डकी प्रकरण भन्नुस्।’
राजश्वको रक्षा गर्ने जिम्मेवारी पाएका व्यक्तिहरुले नै आफ्ना आसेपासेलाई मिलाएर खाएको उनको आरोप छ । पूर्वप्रधानमन्त्री भट्टराईले दलीय भागवण्डाका कारण अख्तियार काम नलाग्ने भइसकेको बताए। ‘हाम्रा अनुसन्धान गर्ने संस्थाहरु कमजोर भए, पार्टीका मान्छेहरुले भागबन्डा गरेर आयुक्तहरु नियुक्त गर्छन्, अनि तिनले कसरी भ्रष्टाचार नियन्त्रण गर्लान् ? उनले प्रश्न गरेका छन्। सशक्त जनलोकपाल आवश्यकता भएको भट्टराईको तर्क छ।




























