मन्त्री अधिकारी सहित दुई जनाको मात्र शव पहिचान, अन्यको डीएनए परीक्षण गर्न लगियो टिचिङ
वि.सं.२०७५ फागुन १६ बिहीवार १४:१७
shares

काठमाडौं। ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये ५ जनाको शव पहिचान गर्न कठिनाइ भएको छ। पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै पहिचान भएको हो।
घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
घटनामा ज्यान गुमाएका ७ जनाकै शव बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं ल्याइएको छ। सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ती शवहरु ल्याइएको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकाल बताउँछन्।
उनका अनुसार बुधबार साँझ दुर्घटनास्थलबाट डोरीको सहायताले ४ जनाको शव निकालिएको थियो भने मौसममा आएको खराबीका कारण ३ जनाको शव बिहीबार बिहान मात्र बिमानस्थल सम्म ल्याइ पुर्याइएको थियो।
डीएनए परीक्षण हुनसक्ने!
विमानस्थलबाट सिधै शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोस्टमार्टमका लागि लाने तयारी छ। त्यहाँ ज्यान गुमाउने व्यक्तिहरुको परिवारका सदस्य पनि उपस्थित हुनेछन्।
यदी परिवारको सदस्यले पनि शवको पहिचान गर्न नसकेको अवस्थामा प्रहरीसामु शवको पहिचानका लागि अन्तिम विकल्प डीएनए परीक्षण मात्रै रहेनछ। जुन प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हुनेछ।
शरीर पूर्ण रुपमा जलेका कारण अन्यको पहिचान हुन नसकेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन्। उनले भने, ‘परिवारबाट पनि सनाखत नभएको अवस्थामा डीएनए परीक्षणको विधि पनि अपनाउँछौं।’
अधिकारीहरु का अनुसार पर्यटनमन्त्री अधिकारीको शव पूर्ण रुपमा जलिसकेको थिएन। त्यस्तै, पीएसओ घिमिरको उनले लगाएको बुटका कारण पहिचान भएको थियो।













