विप्लवको बन्द : उपत्यकामा आंशिक प्रभाव, मकवानपुरमा ट्रकमा आगजनी
वि.सं.२०७५ फागुन ३० बिहीवार ११:०५
shares

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी उपत्यका लगायत देशका विभिन्न शहरमा न्यून देखिएको छ। सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् भने बन्दलाई निस्तेज पार्न राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ। उपत्यकाका मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन्। विभिन्न पूलको छेउमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो छ। सार्वजनिक सवारी सञ्चालनमा आएपनि कतिपय विद्यालय भने आज बन्द रहेका छन्।
मकवानपुरको थाहानगरमा अज्ञात समुहद्वारा ट्रकमा आगजनी
यता त्रिभुवनराजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका वडा नं ४ नयाँगाउँमा नचिनेका समूहले ट्रकमा आगजनी गरेको छ। गएराती पौने १२ बजे काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।
विप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेको पूर्वसन्ध्यामा गुडीरहेको उक्त गाडीलाई रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको चालकले जानकारी दिए मास्क लगाएका एक समूहले ट्रकमा आगजनी गरेको बताइएको छ। घटनाको कुनै पनि समूहले जिम्मा लिएको छैन। ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो।




























