सिके राउत राजनीति मूलधारमा आउँदा खुसी लागेको छ : उपेन्द्र यादव
वि.सं.२०७५ चैत ३ आइतवार १४:३२
shares

विराटनगर । संघीय सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सिके राउतले सरकारसामु आत्मसमर्पण गरेको आशय व्यक्त गरेका छन्। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आन्दोलनको बेला जेलमा परेका कतिपय कार्यकर्ताले आत्मसमर्पण गरेको स्तरमै मुचुल्का उठाउने गरेको उदाहरण दिँदै यादवले सिके राउतले सरकारसँग गरेको सहमति त्यही खालको रहेको बताएका हुन्।
संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले सिके राउतले विखण्डनको एजेण्डा छाडेको र त्यसले आफूहरुको राजनीतिमा सकारात्मक भूमिका निर्वाह गर्ने पनि बताए। ‘हामीलाई सिके राउत मूलधारको राजनीतिमा आउँदा खुसी नै लागेको छ, त्यसले कुनै असर गर्दैन, यादवले भने। राजपासँग पार्टी एकता गर्ने कुरा आफ्नो पार्टीले प्रस्ताव गरेको र सकारात्मक जवाफ सो पार्टीबाट आएको यादवले बताए। राजपा प्रदेशमा र स्थानीय सरकारमा रहेको कारण संघीय सरकारको समर्थन फिर्ता लिनुले कुनै अर्थ नराख्ने बताए।
विप्लवले हिंसात्मक गतिविधि गरेको कारण सरकारले प्रतिबन्ध लगाएको यादवले बताए। अहिलेको सरकारमा विप्लव नै प्रधानमन्त्री हुने हो भने पनि मान्छे मार्ने काममा प्रतिबन्ध लगाउने उनको भनाइ थियो। यादवले विप्लव नेतृत्वको नेकपाको उद्देश्य के हो भन्नेबारे प्रस्ट नभएको पनि सुनाए।































