‘प्रधानमन्त्री शक्तिशाली बन्यो भन्ने हल्लाको अर्थ छैन,’सरकार त्यसै शक्तिशाली छ’ : प्रधानमन्त्री ओली

4.94K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार त्यसैपनि शक्तिशाली रहेकोले सबै अधिकार आफूमा ल्याएर प्रधानमन्त्री शक्तिशाली बन्न लागेको भन्ने हल्लाको अर्थ नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले बुधबार राति नेपाल टेलिभिजनमा जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै चुनाव अघि देखि नै अधिनायकवादको हल्ला कपटपूर्ण ढंगले फैलाएर जनतालाई आतंकित पार्ने काम गरिएको बताए।

पहिला ६० वर्ष उमेर पुगेकालाई गोली ठोक्छन् भनेर हल्ला फैलाइएकोमा त्यो विश्वास नगर्ने अवस्था भएपछि अहिले देशको छबी बिगार्नेगरी प्रचार भइरहेको र त्यसै सिलसिलामा प्रधानमन्त्री शक्तिशाली बन्न लाग्यो भनेर हल्ला फैलाइएको बताए। उनले आफूहरुले लोकतन्त्र हात थापेर उपयोग गरेको नभई आफैंले ल्याएको चर्चा गर्दै आफूले नै आधा शताब्दी भन्दा बढी पार्टीमा पूर्णकालीन सदस्यका रुपमा काम गरेको बताए।

बहुमत ल्याएको प्रधानमन्त्री त्यसैपनि शक्तिशाली हुने र पहिलाको जस्तो टिक्नकै लागि गोटी चलाउने अवस्था नरहेको उनले जनाए। यसैले राजनीतिक रुपमा बोल्ने कुरा नपाएर पटक पटक यस्ता हल्ला फैलाइएको उनको आरोप थियो। मैले यस्ता कुरामा अल्झिनु जरुरी ठानेको छैन। कसैले यस्तो कुरा गरेर अस्तित्वको लडाईंका लागि प्रयास गर्छ भने म त्यस्तोमा अल्झिनु आवश्यक ठान्दिनँ, प्रधानमन्त्रीको भनाई थियो।

उनले अब सरकार विकासको काममा तीब्र ढंगले अघि बढ्ने समेत बताए। उनले पृथकतावादको वकालत गरिरहेको सीके राउतको समूह अहिले मूलधारमा आइसकेको चर्चा गर्दै विप्लब समूहको नेकपालाई पनि अहिलेको संविधान स्वीकार गर्दै मूलधारमा आउन खुला रहेको जनाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083