प्रधानमन्त्री,गृह र स्वास्थ्यमन्त्री औषधी लिएर पुगे हावाहुरीले क्षतिग्रस्त बनेको बारामा
वि.सं.२०७५ चैत १८ सोमवार १७:३४
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, कांग्रेस नेता विमलेन्द्र निधि हावाहुरी प्रभावित बारा पुगी घटनास्थल निरिक्षण गरेका छन्। आइतबार राती एक्कासि आएको हावाहुरीले ठूलो मानवीय क्षति भए पछि प्रधानमन्त्री सहितको टोली बारा पुगेको हो।
प्रधानमन्त्रीले घटनास्थल बाराको फेटा गाउँपालिकाको हेलिकोप्टरबाट निरिक्षण गरेर घाईतेहरुलाई भेट्न नारायणी उपक्षेत्रीय अस्पतालतर्फ लागेको बाराका प्रहरी नायव उपरिक्षक होमबहादुर शाहीले जानकारी दिए। अहिले घटनास्थलको निरीक्षणमा गृहसचिव प्रेमकुमार राईसहितको टोली खटिएको बारा प्रहरीले जनाएको छ। यसै बिच प्रदेश सरकारले राहत र स्वास्थ्यकर्मीको टोली घटनास्थल तथा जिल्ला अस्पतालमा खटाएको छ।

प्रदेश दुई का मुख्यमन्त्री लालबाबु राउत, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव स्वास्थ्यकर्मी सहित अस्पताल पुगेका छन्। मुख्यमन्त्री राउतले बारा र पर्सामा राहत वितरणका लागी टोली खटाइएको जानकारी दिए। यसै बीच हावाहुरीका कारण घाइते भएकाहरूलाई रगत अभाव भएपछि चितवनमा समेत रगत संकलन भइरहेको छ। विभिन्न १५ वटा सामाजिक संघ सस्थाले संयुक्त रूपमा भरतपुरको चौबीसकोठीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
घाइतेको संख्या धेरै भएकाले अस्पतालहरुमा शय्या पाउन मुस्किल भएको छ। उद्दार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ। काठमाडौंको मेडीसिटी अस्पतालबाट चिकित्सकको टोली उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुगेको स्वास्थ्य जाँच सुरु गरेको छ। हावाहुरी आँधी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ।

यस्तै यस अघि हावाहुरीबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले तत्काल तीन लाख रुपैया उपलब्ध गराउने निर्णयसमेत गरिसकेको छ। बिहान प्रदेश सरकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकका परिवारलाई तत्कालीन रुपमा तीन लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो। यस्तै घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि पहल गर्ने निर्णय समेत गरेको छ।

हावाहुरीका कारण बारा र पर्सामा गरी ३२ जनाको मृत्यु भएको छ। हिजो बेलुकी आएको हावा हुरीले बारामा ३१ र पर्सामा एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। चार सयभन्दा धेरै घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी होमबहादुर शाहीले जानकारी दिए।
हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ। क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डाक्टर सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक डाक्टर गुणराज लोहनी समेत पुगि सकेका छन्।































