सुरक्षा निकाय सदैव सजग र सतर्क रहनुपर्छ : प्रधानमन्त्री ओली

5.67K
shares

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ति सुरक्षासंग सम्बद्ध सुरक्षा निकाय समेत सदैव सजग र सतर्क रहनु पर्ने बताएका छन् ।

बिहीबार सैनिक अधिकृतहरुको दीक्षान्त समारोहलाई खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। नेपालको एकीकरणको इतिहास स्मरण गर्दै उनले एकीकरण र सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताए।

‘राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरुको नेतृत्वमा अघि बढाइएको राष्ट्रिय एकिकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकिकृत गरी नेपाल निर्माण गरेको हो,’ प्रधानमन्त्री ओलीले भने।

उनले भने ‘आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देश भित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ।’

प्रधानमन्त्री ओलीले लामो अस्थिरता पछि देश अहिले तीब्र विकासको बाटोबाट अघि बढ्दै गरेको भन्दै विकासका लागि सुरक्षा सुदृढ हुनु पर्ने पनि धारणा राखेका छन्। ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पारी राष्ट्र विकास गर्ने हाम्रो संकल्प रहेको छ’ उनले भने, ‘विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ।’