आचार संहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन : प्रधानसेनापति

5.42K
shares

काठमाडौ । नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठन भित्र कठोर नीति अवलम्बन गर्ने भएको छ।‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आज देखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचार संहिता हास्यव्यङ्ग्यको पुलिन्दा जस्तो नभएकाले यसको पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिनु भयो।

उहाँले भन्नु भयो, “सेनाले आचारसंहिता सप्ताह मनाउनु पर्ने अवस्था आउनु आफैमा विडम्बना र गम्भीर घटना हो, भ्रष्टाचार लगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुने छैन।”हाम्रा पूर्खाको बलिदानबाट गौरब गर्न लायक सङ्गठनका रुपमा नेपाली सेना उभिनुपर्छ भन्दै प्रधानसेनापति थापाले सेनाको छवि धुमिल्याउन अझै पनि केही शक्ति सक्रिय छन् भन्नु भयो।

आर्थिक अनियमिता विरुद्ध सङ्गठनले लिएको शून्य सहनशीलताको नीति जङ्गी अड्डाबाटै शुरु गरिने बताउँदै उहाँले विगतमा भएका अपारदर्शी क्रियाकलापले सङ्गठनलाई पारदर्शी बनाउन कठिन भएकाले यस विषयमा सकल दर्जाले हेक्का राख्नु आवश्यक भएको उल्लेख गर्नु भयो।

प्रधानसेनापति थापाले भन्नु भयो, “आर्थिक अभाव छ भनेर अनियमिता गर्ने कसैलाई छुट छैन, पदोन्नति र शान्तिसेनामा सहभागिताजस्ता विषयमा प्रभावशाली व्यक्तिबाट भनसुन गराइ दबाब दिने प्रयास भएमा त्यसको अभिलेख राखिने भएकाले वृत्ति विकासमा त्यसको असर पर्छ तर सङ्गठनमा त्यो प्रवृत्ति अझै पनि अन्त्य हुन सकेको छैन।”

नेपाली सेना भनेको ‘चेन अफ कमाण्ड’ र पद्धतिमा चल्ने तथा अनुशासन र बलिदानमा मान्यता राख्ने सङ्गठनका रुपमा राष्ट्र र जनताहितका खातिर बफादार भइ काम गरि रहेको सो अवसरमा जानकारी दिइयो।

सेनाले प्रत्येक वर्ष पहिलो महीनाको पहिलो साता आचारसंहिता सप्ताह मनाउने घोषणा गरेको छ। उक्त सप्ताहका क्रममा सेनाका सकल दर्जालले गर्नु पर्ने, गर्न हुने र गर्न नहुने एवं आर्थिक पारदर्शीता, भर्ना छनोट, राजनीतिक भेटघाट, सार्वजनिक अभिव्यक्ति दिँदा हेक्का राख्नु पर्नेबारे मुख्यालय देखि तल्ला तहको निकायसम्म प्रशिक्षण दिने भएको छ। प्रधानसेनापति थापाले आचार संहिता सम्बन्धी पुस्तक पनि लोकार्षण गर्नु भयो। रासस


divya collage
unigloble collage