दुर्गा प्रसाईंको आरोप : ‘डिप स्टेट’को योजनामा नयाँ शक्तिहरू अघि सारिए

2.83K
shares

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा विदेशी प्रभाव बढ्दै गएको दाबी गर्दै केही नयाँ राजनीतिक पात्रहरू योजनाबद्ध रूपमा अघि सारिएको आरोप लगाएका छन्।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापाको नाम उल्लेख गर्दै उनीहरूलाई पश्चिमा शक्तिको प्रभावमा अघि बढाइएको दाबी गरे। उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सामाजिक सञ्जालमार्फत ‘हिरो’का रूपमा प्रस्तुत गरिएझैँ नेपालमा पनि त्यस्तै रणनीति अपनाइएको आरोप लगाए।

प्रसाईंले ‘डिप स्टेट’को अवधारणा उल्लेख गर्दै केही अन्तर्राष्ट्रिय संस्थामार्फत नेपालमा हस्तक्षेप भइरहेको जिकिर गरे। उनले सामाजिक सञ्जालको प्रयोगमार्फत जनमत प्रभावित पार्ने प्रयास भइरहेको दाबी गरे। साथै, सन् २०१३/१४ यता नेपालमा विभिन्न एजेन्डा स्थापित गर्न विदेशी लगानी भएको आरोपसमेत लगाए।

उनले हालैका आन्दोलन र केही हिंसात्मक घटनाहरू पनि योजनाबद्ध भएको दाबी गर्दै सम्बन्धित नेताहरूलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए।

प्रसाईंले आगामी फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्कने कार्यक्रम रहेको उल्लेख गर्दै समर्थकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गर्न आह्वान गरे। प्रशासनले तोकेको निषेधित क्षेत्रको अवज्ञा गर्दै पनि उपस्थित हुनुपर्ने उनको भनाइ थियो। उनले आफू आवश्यक परे जेल जान तयार रहेको उल्लेख गरे।

त्यस्तै, उनले आगामी निर्वाचनप्रति असहमति जनाउँदै वर्तमान प्रणाली अन्तर्गतको चुनाव आवश्यक नभएको दाबी गरे। आफ्नो अभियानले बैंक ब्याजदर घटाउन भूमिका खेलेको दाबी गर्दै उनले व्यापारी र सर्वसाधारणलाई आन्दोलनमा साथ दिन आग्रह गरे।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083