राष्ट्रको हितमा आवश्यक पर्दा सहकार्य हुन्छ : प्रचण्ड

2.11K
shares

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक धारणा फरक–फरक भए पनि राष्ट्रिय संकटका बेला वामपन्थी शक्तिहरूबीच सहकार्यको परम्परा रहेको बताएका छन्।

बागलुङको गलकोटमा आयोजित नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले बागलुङमा गरिएको तालमेल देशव्यापी एकताको सन्देशका रूपमा अघि सारिएको बताए। उनले जनमोर्चासँगको सहकार्य निर्वाचनमा मात्र सीमित नरहने उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने संकेत गरे।

दाहालले भदौ २३ र २४ मा भएको आन्दोलनपछि देशको राजनीतिक परिस्थिति जटिल बनेको उल्लेख गर्दै त्यस्तो अवस्थामा विभाजित रहनु उचित नहुने धारणा राखे। “राजनीतिक मतभेद आफ्नै ठाउँमा छन्, तर देश अप्ठेरोमा परेका बेला जिम्मेवार शक्तिहरू एक ठाउँमा उभिनुपर्छ,” उनले भने।

कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान अवस्थालाई संवेदनशील बताउँदै आगामी निर्वाचन निर्णायक हुने दाबी गरे। उनले फागुन २१ गते हुने मतदानलाई सामान्य प्रक्रियाका रूपमा नलिन आग्रह गर्दै राष्ट्रहितलाई प्राथमिकता दिने उम्मेदवारलाई समर्थन गर्न मतदातासँग अपिल गरे।

बागलुङका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारीलाई समर्थन गर्ने र क्षेत्र नम्बर २ मा जनमोर्चाले नेकपाका उम्मेदवार ज्ञामनाथ गैरेलाई साथ दिने समझदारी भएको जानकारी सभामा दिइयो।

नेताहरूले आगामी निर्वाचनमार्फत राजनीतिक स्थिरता र सहकार्यको नयाँ सन्देश दिनुपर्नेमा जोड दिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083