कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगर सबैभन्दा कमजोर

2.78K
shares

 

काठमाडौं। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनअनुसार देशका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ।

आयोगले १७ वटा सूचकका आधारमा गरेको मूल्यांकनमा काठमाडौं महानगरपालिकाले ४४.९७ अंक प्राप्त गर्दै छैटौं स्थान ओगटेको छ। यो अंक अन्य महानगरपालिकाको तुलनामा सबैभन्दा कम हो।

यस वर्ष मोरङको विराटनगर महानगरपालिका ७८.११ अंकसहित पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा ललितपुर महानगरपालिका ७६.३३ अंकसहित रहेको छ भने तेस्रो स्थानमा भरतपुर महानगरपालिका ६८.०४ अंकसहित रहेको छ। पोखरा महानगरपालिका ५८.७६ अंकसहित चौथो तथा वीरगञ्ज महानगरपालिका ५४ अंकसहित पाँचौं स्थानमा छन्।

महानगरपालिकाको प्राप्तांकहरु :

  1. विराटनगर – ७८.११

  2. ललितपुर – ७६.३३

  3. भरतपुर – ६८.०४

  4. पोखरा – ५८.७६

  5. वीरगञ्ज – ५४

  6. काठमाडौं – ४४.९७

आयोगले स्थानीय तहको मूल्यांकनका लागि १७ सूचक प्रयोग गरेको जनाएको छ। ती सूचकमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, प्रदेश सरकारलाई दिनुपर्ने घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करको ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको विषय समावेश छन्।

त्यसैगरी आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहितको विवरण समयमै अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेट समीक्षा कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, राजस्व परिचालन र बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोगको स्थिति पनि मूल्यांकनका आधार बनेका छन्।

शिक्षा र स्वास्थ्यसँग सम्बन्धित सूचकहरू पनि मूल्यांकनमा समावेश गरिएको छ। जसमा विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, एसईई नतिजा, गर्भ जाँच गराउने महिलाको अनुपात र खोप लगाएका बालबालिकाको अनुपात जस्ता सूचकहरू रहेका छन्।

आयोगका अनुसार देशभरिका स्थानीय तहहरूमध्ये ८० अंकभन्दा माथि ल्याउने स्थानीय तह चार वटा मात्र रहेका छन्, जसमा अधिकांश पश्चिम नेपालका रहेका छन्।

मूल्यांकनको नतिजाले स्थानीय तहको वित्तीय अनुशासन, सेवा प्रवाह र समग्र प्रशासनिक कार्यक्षमतामा सुधारको आवश्यकता औंल्याएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083