जनतालाई मुक्ति दिलाउने पार्टी नेकपा : नेता नेपाल
वि.सं.२०७५ फागुन २५ शनिवार १७:४७
shares

रौतहट। नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसी जनतालाई भ्रम फैलाउनेका पक्षमा नलावग्न आग्रह गरेका छन्। शनिबार रौतहटको गरुडामा आयोजित नेकपाको आमसभामा नेता नेपालले मधेसी दलले नेकपा विरुद्ध भ्रम फैलाएको भन्दै त्यसलाई नपत्याउन जनतालाई आग्रह गरेका हुन्।
नेकपा जतिको बलियो पार्टी मधेस, पहाड र हिमालमा नभएको नेता नेपालको भनाइ थियो। उनले विगतमा पनि नेकपाले झापा आन्दोलन, किसान आन्दोलन र जनयुद्ध लागयतका जागरण आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको र त्यसलाई मधेसका जनताले सधैँ साथ दिएको बताए। उनले रौतहटमा विगतमा सामन्तवाद विरुद्ध लड्ने पार्टी नेकपा भएको र जनतालाई मुक्ति दिलाउने पार्टी नेकपा भएको बताए।
‘कम्युनिस्ट पार्टीको नेतृत्वमा देश अगाडि बढि रहेको छ। हामी सबै नेपाली हौँ भन्ने भावनाका साथ देशलाई एकताबद्ध गरि रहेका छौँ। हामी भनि रहेका छौँ कि एकताको डोरी राष्ट्रियताको डोरी हो’, नेता नेपालले भने , ’पहाड तराईका विरुद्धमा द्वन्द्व बढाउने काम भएको थियो। अब विभाजित भएर केही हुँदैन भन्ने सबैलाई चेत भएको छ। देशको विरुद्ध भावना फैलाउने कम्युनिस्ट पार्टी होइन भन्ने प्रमाणित भएको छ।‘ नेकपा जात र धर्मका नाममा राजनीति गर्ने पार्टी नभएको बताए। उनले सबै जातजाती र धर्मका मान्छेलाई एकसाथ लगेर राष्ट्रिय एकताका साथ विकासमा गएको बताए।
सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिएको र त्यसबाट मधेस पहाड हिमालमा विकास हुने नेता नेपालको भनाइ थियो। उनले मधेसका जनताका लागि विकास योजना ल्याउने पार्टी नेकपा भएको र पार्टी अध्यक्ष केपी शर्मा ओली विगतमा पनि प्रधानमन्त्री भएका बेला तराई मधेस विकास कार्यक्रम ल्याउएर काम अगाडि बढाएको बताए। नेकपाका नेताहरूलाई मधेस विरोधी भनेर भ्रम फैलाएका बेला नेकपाले मधेस विकास योजना ल्याएको बताए।
छोरी र महिला माथि हुने अत्याचार र विभेद अन्त्य गर्नका लागि र जातपातको विभेद अन्त्य गर्नेका लागि कम्युनिस्ट पार्टीले काम गरिरहेको नेता नेपालको भनाइ थियो। उनले विभिन्न सडक निर्माणका योजन, रेल यातायातको विकास र विस्तारको योजना मधेसमा जारी रहेको बताए। मधेसका राजनीतिक दलहरू मधेसमा लुट्ने काम गरि रहेका छन् भन्दै नेता नेपालले जनताको पक्षमा काम गर्ने पार्टी विरुद्ध नलाग्न चेतावनी दिए। उनले भने, ‘संविधान बनाउने र जनतालाई अधिकार दिने वाला पार्टी, महिलालाई स्थानीय निकायमा ४० प्रतिशत सिट छुट्याउने, मधेस, मुस्लिम, महिला आयोग बनाउने पार्टी नेकपा हो।
मधेसी दल भ्रम फैलाउन सक्छन्, त्यसका पछि नलाग्नुहोला।‘ नेता नेपालले भारत र चीनबाट रेल ल्याएर देश विकास गर्न लागेको बताए। भ्रष्टाचार अन्त्यका लागि जनतालाई सहयोग गर्न पनि उनले आग्रह गरेका थिए। ‘जनताका लागि भ्रष्टाचार अन्त्य गर्न लागिएको छ। अड्डा अदालतमा हुने भ्रष्टाचार अन्त्य गर्नका लागि काम भइ रहेका छन्।
यसमा तपाईंहरू पनि जानकारी दिनुहोला’, उनले भने, ‘जनसेवा र षार्टीमा लाग्नका लागि प्रदेश २ का जनतालाई अनुरोध गर्न चाहान्छु। यहाँ प्रदेश २ को सबै भन्दा ठूलो पार्टी नेकपा हो, यहाँ प्रदेश सरकार गठन गर्नका लागि लाग्न आग्रह गर्न चाहान्छुँ।‘





























