आफ्नै कार्यकालमा वृद्धभत्ता ५ हजार पुर्याउने मुख्यमन्त्री ‘पौडेल’को उद्घोष

वि.सं.२०७५ कात्तिक २७ मंगलवार १५:१७
shares

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान सरकारले आफ्नो कार्यकालभित्र वृद्धभत्ता वृद्धि गरी मार्सिक ५ हजार पुर्याउने उद्घोष गरेका छन्। ओम वृद्धाश्रम मकवानपुरको १२औँ वार्षिक साधारण सभालाई हेटौँडामा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो उद्घोष गरेका हुन्।
कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले वृद्धभत्ता मार्सिक ५ हजार पुर्याउने भनेपनि कहिलेसम्म पुर्याउने भनी समय निर्धारण नगरेको भन्दै वृद्धभत्ता नपाएको भन्ने भ्रममा नरहन आग्रह गरे। पौडेलले वर्तमान सरकारले आफूले बोलेको कुरा आफ्नो कार्यकालमा गरेर देखाउने भन्दै अबको चार वर्षभित्रमा वृद्धभत्ता मार्सिक ५ हजार पुर्याउने बताए। नेकपा सधैँ वृद्धवृद्धाको हितको लागि काम गर्ने पार्टी भएको भन्दै मुख्यमन्त्री पौडेलले सरकारले ज्येष्ठ नागरिकको हितको लागि कानुन बनाइरहेको बताए। उनले अब हरेक छोराछोरीले आफ्नो कमाइको १० प्रतिशत बुवाआमाको खातामा अनिवार्य राख्न पर्ने व्यवस्था गरिन लागेको पनि बताए।
कायक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सबैतिर राज्यले मात्र हेर्न नसक्ने भन्दै यस्ता आश्रमले सरकारलाई सहयोग गर्ने पनि स्पष्ट पारे। आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ की प्रदेशसभा सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको उपस्थिति रहेको थियो।