जेनजी २.० को निर्णय: रुपन्देही–२ मा विष्णु पौडेललाई समर्थन

2.67K
shares

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘जेनजी २.०’ समूहले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार तथा विष्णु प्रसाद पौडेल लाई समर्थन गर्ने घोषणा गरेको छ। पौडेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्षसमेत हुन्।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जेनजी २.० का प्रवक्ता अविन लिम्बुले कुनै एक दल विशेषभन्दा पनि उम्मेदवारको पृष्ठभूमि, कार्यक्षमता र जनाधारलाई आधार मानेर समर्थन गर्ने नीति समूहले लिएको जानकारी दिए। उनका अनुसार रुपन्देहीमा भौतिक विकास र पूर्वाधार निर्माणमा पौडेलले पुर्‍याएको योगदान, साथै उनीप्रति देखिएको जनविश्वासका कारण समर्थन गर्ने निर्णय गरिएको हो।

लिम्बुले सर्लाहीमा गगन थापा लाई समर्थन गरेजस्तै, रुपन्देहीमा पौडेललाई साथ दिने निर्णय गरिएको उल्लेख गरे। त्यस्तै, चितवनमा पूर्व मेयर रेणु दाहाल लाई पनि जेनजी २.० ले समर्थन गर्ने जानकारी उनले दिए। यसबाट समूहले राजनीतिक विचारधाराभन्दा पनि उम्मेदवारको काम र प्रभावलाई प्राथमिकता दिने रणनीति अपनाएको प्रष्ट हुन्छ।

जेनजी २.० ले रुपन्देहीमा मत सर्वेक्षण, उम्मेदवारको पृष्ठभूमि अध्ययन र उनीहरूले गरेका कामको मूल्याङ्कनपछि मात्र समर्थन घोषणा गरिएको जनाएको छ। “राम्रो काम गर्ने र जनताको पक्षमा प्रभावकारी भूमिका खेल्ने जुनसुकै दलका उम्मेदवारलाई सहयोग गर्न हामी तयार छौं,” लिम्बुले स्पष्ट पारे।

सामाजिक सञ्जालमा विभिन्न दलप्रति देखिने चर्चालाई उनले स्वाभाविक माने पनि अन्तिम निर्णय मतपत्रमार्फत हुने भएकाले मतदाताको विवेक नै निर्णायक हुने बताए। जेनजी समूहले राजनीतिक विचारभन्दा पनि पात्र र प्रवृत्तिका आधारमा जनताको हितमा काम गर्न सक्ने उम्मेदवारलाई साथ दिने नीति दोहोर्‍याएको छ।

रुपन्देही–२ को चुनावी माहोल दिनप्रतिदिन चर्किंदै जाँदा युवाहरूको यस्तो सक्रिय र मूल्याङ्कनमा आधारित समर्थनले निर्वाचनलाई अझ रोचक र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083