म्हेपीमा खाल लुटने असईविरुद्ध जुवा मुद्दा

5.32K
shares

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्तिक ५ मा म्हेपीको एकघरबाट जुवाको खाल लुटने असई बिचित्र थापा मगरलाई जुवा ऐनमा कारवाही गरेको छ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायको इजलासले असई थापा मगरसहित जुवा काण्डमा संलग्न रहेका रोसन लामा र दिनेश पराजुलीलाई जनही २० हजार धरौटी माग गरेको हो। प्रजिअ आर्चायको इजलासले कार्तिक १७ मा असई राष्ट्र सेवक कर्मचारी भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत कारवाहीका लागि पठाउन आदेश गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले म्हेपीमा जुवाको खाल लुटेको आरोप लागेका असई थापा मगरलाई निलम्बन गरेर कारवाही थालेको थियो।

प्रहरीले विभागिय कारवाहीका लागि अनुसन्धान गरिरहेका बेला सरकारी वकिलको कार्यालयले लामा र पराजुलीसहित असई बिचित्रलाई प्रतिवादी बनाएर मुद्दा बुझाएको थियो। परिसरका डिएसपी होविन्द्र बोगटीले विभागीय कारवाहीको तयारी भइरहेको समयमा जुवा ऐनमा कारवाही सुरु भएकाले हाललाई स्थगित भएको बताए।

उनले धरौटी बुझाएर रिहा भएका असई बिचित्रलाई प्रशासनको फैसला लगत्तै अख्तियारमा बुझाउने बताए। पहिलो कारवाहीस्वरूप २० हजार रूपैयाँ धरौटी मागेको जिप्रकाले अन्तिम निर्णय सुनाउन बाँकी छ। जुवा एेनमा प्रजिअले एक महिनामा थुनामा राख्नेगरी आदेश दिन सक्छन्।

प्रहरी नियमावलीअनुसार एक दिन पनि कैद सजाय भएमा प्रहरी कर्मचारी जागिरबाट स्वत बर्खास्त हुन्छन्। महानगरीय प्रहरी परिसरको अनुसन्धानबाट असई बिचित्रले कार्तिक ५ मा रकम लुटेको पुष्टि भएको थियो। यद्यपि थापाले आफू लुटमा संलग्न नरहेको दाबी गरेका थिए। अनुसन्धान अधिकारीका अनुसार उनले लुटेको रकममध्ये २५ हजार प्रहरी जवान शुशीलकुमार कार्कीलाई दिएका थिए। सो रकम समेत बरामद भएको छ।

म्हेपी अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिचित्र थापा मगरको टोलीले कार्तिक ५ को मध्यराती राती म्हेपी रेडन कलेज नजिकको घरमा जुवा चलिरहँदा छापा मारेको थियो। असई थापा नेतृत्वको टोली जुवाघरमा प्रवेश गरेपछि मध्यराति भागदौड मच्चिएको थियो। जुवाडे त्यहाँबाट निस्केपछि खालमा रहेको रकम झोलामा हालेर उनी त्यहाँबाट निस्किएका थिए।

अनुसन्धानमा देखिएअनुसार खालमा करिब १७ लाख रुपैयाँ थियो। जुवा खेलाउने समूहले दुई लाख रुपैयाँ लिएर बाँकी रुपैयाँ फिर्ता दिन अनुरोध गरेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083