धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था खराब, उपचारका लागि काठमाडौँ ल्याइदैँ
वि.सं.२०७५ मंसिर ८ शनिवार ११:५६
shares

काठमाडौँ । बलात्कारपछि हत्या भएकी १३ वर्षीया छोरी निर्मला पन्तका हत्यारालाई कारवाही गर्न माग राख्दै धर्नामा बसेका बुवा यज्ञराज पन्तको मानसिक अवस्था खराब बन्न थालेपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ ।
धर्नामा बसेका पन्तले सामान्य अवस्थाको भन्दा फरक क्रियाकलाप देखाउन थालेपछि उनलाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिए । त्यसका लागि शुक्रबार साँझ धर्नामा बसेका परिवारका सदस्यसहित अधिकारकर्मीहरुसँग जिल्ला प्रशासन कार्यालयमा छलफल गरिएको कडायतले जानकारी दिए ।
‘निर्मलाका बुवाले मानसिक समस्या भएको जस्तो क्रियाकलाप देखाउन थालेपछि हामीले उपचारका लागि अञ्चल अस्पताल लैजान खोज्यौँ, उहाँ (निर्मलाका बुवा) ले मान्नुभएन, धर्नास्थलमै डाक्टर बोलाएर सामान्य चेकजाँच त भएको छ तर अवस्था झनै खराब बन्न थालेपछि परिवारका सदस्य र अधिकारकर्मीहरुसँग छलफल गरेर उपचारका लागि काठमाडौँ पठाउने कुरा भएको छ, सम्भवतः आजै पठाईन्छ,’ उनले भने ।
छोरीको हत्यारालाई कारवाहीको माग राख्दै धर्नामा बसेका यज्ञराजले धर्नास्थलमा बर्बराउने, अधिकारकर्मीहरुलाई समेत तथानाम गाली गर्ने, सडकमा जिन्दावाद र मुर्दावाद भन्दै एक्लै नारा लगाउने जस्ता क्रियाकलापहरु देखाउन थालेका प्रहरी उपरीक्षक कडायतले जानकारी दिए ।
















