घरमुनि नै भेटिन्छन् ‘मानव अस्थिपञ्जर’
वि.सं.२०७५ मंसिर १६ आइतवार १२:२७
shares

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली गाउँमा पर्ने राजारानी क्षेत्रका खेत बाँझै भएको वर्षौं भइसकेको छ । यहाँ कसैले पनि रोपाइँ गर्ने आँट गर्दैनन् ।
रोपाइँपूर्व मानवबलि
राजारानी क्षेत्रमा पर्ने ठूलो खेतको नाम हो, सेराखेत । पहिला यहाँ रोपाइँअघि मानवबलि दिने परम्परा भएको स्थानीय बताउँछन् । राजारानी डाँडाको पूर्वतर्फको फेदमा छ, सिमालो (भिजेको) जमिन । करिब १० रोपनी खेत अहिले बाँझै छ । कुनै समय यो खेतमा बाजागाजासहित रोपाइँ हुन्थ्यो ।
रोपाइँका लागि वरिपरिका धेरै गाउँबाट स्थानीय भेला हुन्थे । रोपाइँपूर्व यहाँ मानवबलि दिनुपथ्र्यो । त्यो नगरी रोपाइँ गरे सबै खेताला र गोरु हिलोमै फस्ने र अनिष्ट हुने विश्वास थियो । मानवबलिका लागि प्रत्येक वर्ष फरक–फरक गाउँको पालो लगाइएको थियो । खेतभन्दा ५० मिटरपर मानवबलि दिने गरेको भनिएको ढुंगा अझै छ । सो ढुंगामा अघिल्लो दिन नै बलि दिने मान्छेको नाम खोपिने स्थानीय विषमान नेपालीले बताए । यसरी नाम खोपिएको मान्छे आफू बलिमा होमिन तयार हुने स्थानीय बताउँछन् ।
यसरी हट्यो बलिप्रथा
स्थानीय बुढापाकाका अनुसार अन्तिमपटक साबिकको माझफाल गाविसका एक परिवारका बाबु वा छोरामध्ये एकजना बलिका लागि तयार हुनुपर्ने भएछ । परिवारमा दुईजना मात्र रहेछन् । बाबुले आफू बूढो भएकाले आफैँ बलिमा जाने ढिपी गरेछन् । छोराले आफू जाने ढिपी गरेछन् । तर, ढुंगामा स्थानीयले छोराको नाम लेखिदिएछन् ।
उनीहरू रुँदै अघिल्लो दिन नै रल्लीगाउँ पुगेछन् । राति नै उनीहरूले एउटा जुक्ति निकालेछन् । राति गहतको झोल पकाएर त्यो झोल र फलामे औजार लिएर ढुंगो भएको ठाउँमा गए । ढुंगामा लेखिएको नाम मेटेर गहतको झोल खन्याए । ढुंगोलाई पुरानोजस्तै बनाए । भोलिपल्ट ढुंगामा लेखिएको नाम मेटिएको पाएपछि बलिविना नै रोपाइँ सुरु भयो । तर, आधा रोपाइँपछि सबै खेताला र गोरु मरे । त्यसपछि खेत बाँझै हुन थालेको स्थानीय बताउँछन् ।
उत्खननमा भेटिए अस्थिपञ्जर
चार वर्षअघि पुरातत्व विभागको टोली राजारानी क्षेत्र पुगेर उत्खनन गरेको थियो । उत्खननमा मानव अस्थिपञ्जरसमेत फेला परेको स्थानीय टोपबहादुर शाहीले बताए । त्यस्तै, सयौँ वर्ष पुराना पुलिक (गलामा लगाइने वस्तु), धातुका हतियारलगायत वस्तु फेला परेको थियो । उत्खनन टोलीले त्रिपुराकोटमा पत्रकार सम्मेलन गरी ती सामग्री सार्वजनिक समेत गरेको थियो । विभागले ती सामग्री जाँचका लागि काठमाडौं लग्यो । चार वर्ष बितिसक्दा पनि सामग्री डोल्पा नफर्काइएको स्थानीय टोपबहादुर शाहीले बताए ।
डाँडैभरि जमिनमुनि घर
राजारानी डाँडाका प्रायः सबैघर जमिनमुनि बनाइएका झैँ छन् । घर पस्दा गहिरो खाडलमा पसेजस्तै अनुभूति हुन्छ । यी घर सयौँ वर्ष पुराना भएको स्थानीय बताउँछन् । नेपालमा बाइसे–चौबीसे राज्य हुँदा यहाँ लिम्बुल्याप्चे नामका भोटे राजाले शासन चलाउँथे । राज्य विस्तारका क्रममा बहादुर शाहको टोली युद्ध लड्दै डोल्पा पुगेको थियो । त्यतिवेला आक्रमणबाट बच्न बंकर शैलीका घर बनाइएको स्थानीय बताउँछन् । बहादुर शाहको टोलीसँग युद्ध चल्दा मरेका सैनिकलाई त्यहीँ गाडिएको बताइन्छ । त्यसकारण सो क्षेत्रका घरमुनिको जमिन खन्दा मानव अस्थिपञ्जर भेटिने स्थानीयको भनाइ छ ।
राजारानी देवल
त्यस क्षेत्रको अर्को आर्कषण राजा र रानीका देवल हुन् । त्यहाँका भोटे राजाको सम्झनामा देवल खडा गरेको एकथरी स्थानीय बताउँछन् । अर्काथरी भने डोल्पा एकीकरण गर्न आएको बहादुर शाहको टोलीले त्यहाँका राजालाई मारिसकेपछि उनीहरूको स्मारकका रूपमा देवल बनाएको बताउँछन् । राजारानी क्षेत्र अहिले मानवीय अतिक्रमणको चपेटामा पर्न थालेको छ । स्थानीयले जथाभावी उत्खनन गरेर माटो, ढुंगा र अन्य पुरातात्विक वस्तु निकाल्न थालेको स्थानीय तुलबहादुर श्रेष्ठले बताए ।
















