दुर्घटनामा परी दुईको मृत्यु

5.36K
shares

तनहुँ । छुट्टछुट्टै सवारी दुर्घटनामा परी घाइते भएकामध्ये तनहुँमा दुई जनाको मृत्यु भएको छ । गत शुक्रबार तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा बस दुर्घटना हुँदा सख्त घाइते भएकी घिरिङ गाउँपालिका-१ का ७० वर्षीया आइतीमाया विकको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार ग १ ख ६१७५ नम्बरको यात्रुवाहक बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खख्दा १८ जना घाइते भएका थिए । उक्त दुर्घटनामा परी घिरिङ गाउँपालिका-१ का २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ का ४२ वर्षीया नानीमाया गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

त्यसैगरी गत शनिबार आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरा नजिकै ग १ ख ५९०० नं को ट्रकले विपरीत दिशामा गुडिरहेको बा ८७ प ३३१४ नं को मोटरसाइकलाई ठक्कर दिँदा सख्त घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा आज मृत्यु भएको छ । ट्रकको ठक्करबाट घाइते भएका गोरखा जिल्ला शहीद लखन गाउँपालिका-३ का ३० वर्षीय सन्तोष पोख्रेलको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको उनले बताए ।