भैरहवा, रुपन्देही।
भजन भैरहवा कार्यक्रममार्फत युवाहरू भगवानलाई सम्झँदै सामूहिक रूपमा कीर्तन गाउँन थालेका छन्। पछिल्लो समय युवाहरू संस्कृति र धर्मसँग जोडिन थालेको देखिएको छ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा “हाम्रो देश हामीले बनाऔँ, बोलेर होइन गरेर देखाऔँ” भन्ने मूल नारालाई आत्मसात गर्दै सेब फ्युचर नेपालको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम रोट्र्याक्ट क्लब अफ भैरहवा, काशी नोबल एकेडेमी, किराना तथा प्लास्टिक व्यवसायी संघ, पी.आर.एच. कन्सल्टेन्सी, श्री नारायण मन्दिर समिति, लायन्स क्लब अफ भलवारी, लियो क्लब अफ भलवारी, लियो क्लब अफ सिद्धार्थनगर, इनर भ्याली क्लब अफ लुम्बिनी, नवदुर्गा युवा क्लब, रोट्र्याक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोट्र्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी तथा लियो क्लब अफ होली सिटी भैरहवाको सहआयोजनामा सञ्चालन भइरहेको छ।
कार्यक्रमका संयोजक अभिषेक चौधरीले संस्कृति र धर्मलाई युवा तथा समुदायसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनका अनुसार कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक शनिबार साँझ ५ बजेदेखि ७ बजेसम्म सिद्धार्थनगरस्थित नारायणस्थान मन्दिरमा नियमित रूपमा सञ्चालन गरिनेछ।
जब युवाहरूको स्वरले गुञ्जियो नारायणस्थान
साँझ ढल्दै जाँदा नारायणस्थान मन्दिर परिसरमा दीपहरूको उज्यालो फैलिन्छ। घण्टाको मधुर ध्वनि र मादलको तालसँगै युवाहरूको सामूहिक स्वर वातावरणमा गुञ्जिन थाल्छ।
‘भजन भैरहवा’ केवल धार्मिक कार्यक्रम मात्र होइन, यो युवाहरूको सांस्कृतिक जागरणको संकेत हो। आधुनिक प्रविधि र व्यस्त जीवनशैलीका बीचमा पनि युवाहरूले समय निकालेर सामूहिक रूपमा भजन–कीर्तनमा सहभागी हुनु सकारात्मक परिवर्तनको संकेत मानिएको छ।
कार्यक्रममा सहभागी युवाहरू स्वयं व्यवस्थापन, संगीत संयोजन तथा सञ्चालनमा सक्रिय देखिन्छन्। विभिन्न सामाजिक संघ–संस्थाको सहकार्यले समुदायमा एकता, सहकार्य र सद्भावको सन्देश दिएको छ।
संयोजक अभिषेक चौधरीका अनुसार, “देश परिवर्तन भाषणले मात्र सम्भव हुँदैन। संस्कार, संस्कृति र सामूहिक प्रयासबाट नै सकारात्मक परिवर्तन सम्भव हुन्छ।”
हरेक शनिबार साँझ ५ देखि ७ बजेसम्म सञ्चालन हुने यो कार्यक्रमले सिद्धार्थनगरको साँझलाई आध्यात्मिक तथा सांस्कृतिक वातावरणले भरिपूर्ण बनाएको छ।
युवाहरूको उत्साह र समुदायको साथले ‘भजन भैरहवा’ अब नियमित सांस्कृतिक अभियानका रूपमा स्थापित हुँदै गएको छ।
















