अर्जेन्टिनी फुटबलर सालाको शव निकाल्न उद्धारकर्ता सफल
वि.सं.२०७५ माघ २५ शुक्रवार १२:४५
shares

एजेन्सी । दुर्घटनामा परेको कार्डिफ सिटीका खेलाडी इमिलियानो साला सवार विमानको भग्नावशेषबाट उनको मृत शरीर निकालिएको डोरसेट पुलिसले जानकारी गराएको छ । फ्रान्सेली लिग वानको टोली नान्टेसबाट कार्डिफ सरुवा भएपछि नयाँ सहर जाने क्रममा उनी र विमान चालक डेविड इबोटसन सवार विमान जनवरी २१ मा इङ्लिस च्यानल वरपर पुगेपछि वेपत्ता भएको थियो ।
विमानको भग्नावशेष आइतबार बिहान फेला पारिएको थियो भने २८ वर्षे सालाको मृत शरीर बुधबार राती ढिलोगरी निकाल्न सकिएको जनाइएको छ । पुलिसले दुर्घटनाग्रस्त विमानबाट निकालेको साला र इबोटसनको क्षतविक्षत शरीर पोर्टल्यान्ड पोर्टमा ल्याएको छ ।
पुलिसले साला र इबोटसनको परिवारलाई सबै घटनाक्रमको जानकारी गराइसकेको बताएको छ । साला र इबोटसनको परिवार तथा कार्डिफ सिटीको सल्लाहअनुसार दुवैको छुट्टाछुट्टै अन्तिम संस्कार गरिने बताइएको छ ।































